काठमाडौं –
पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ बाटै बाहिरिएको छ। एर्लिङ हालान्डको उत्कृष्ट दुई गोलको मद्दतमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
यो हारसँगै ब्राजिल ३६ वर्षपछि फेरि अन्तिम १६ चरणबाटै प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ। यसअघि ब्राजिल सन् १९९० को विश्वकपमा पनि अन्तिम १६ बाटै बाहिरिएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वेले भने नयाँ इतिहास रच्दै पहिलो पटक अन्तिम आठमा स्थान बनाएको छ।
अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको खेलमा सुरुदेखि नै नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राख्यो। खेलभर ६५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको नर्वेले ब्राजिललाई खुलेर खेल्ने अवसर नै दिएन।
ब्राजिलले खेलको १४औँ मिनेटमै अग्रता लिने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। क्रिस्टोफर अयरको फलपछि भिडियो सहायक रेफ्री (VAR) को सहयोगमा प्राप्त पेनाल्टीलाई ब्रुनो गिमारेसले गोलमा परिणत गर्न सकेनन्। उनको प्रहार नर्वेका गोलरक्षक ओर्यान नाइलान्डले उत्कृष्ट रूपमा बचाए।
ब्रुनोको पेनाल्टी असफलताले ब्राजिललाई थप दबाबमा पार्यो। पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न नसक्ने उनी ब्राजिलका पहिलो खेलाडी बने। यसअघि सन् १९८६ मा जिकोले फ्रान्सविरुद्ध पेनाल्टी गुमाएका थिए।
दोस्रो हाफमा पनि ब्राजिलले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा बदल्न सकेन। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्ड्रिकले ५९औँ मिनेटमा गोलरक्षकसँग एक्लाएक्लै हुँदा पनि उत्कृष्ट अवसर खेर फाले, जुन अन्ततः ब्राजिलका लागि महँगो सावित भयो।
ब्राजिलले अवसर गुमाइरहेका बेला एर्लिङ हालान्ड चम्किए। उनले ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको पासमा पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा पुनः सेलड्रुपकै पासमा हेडमार्फत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे।
ब्राजिलका लागि इन्जुरी टाइमको नवौँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि हार टार्न त्यो पर्याप्त भएन।
विश्वकप इतिहासमा नर्वेले ब्राजिललाई दोस्रो पटक पराजित गरेको हो। यसअघि सन् १९९८ को विश्वकपमा पनि नर्वेले ब्राजिललाई २–१ ले नै हराएको थियो। ब्राजिलविरुद्ध हालसम्म खेलेका पाँचवटै खेलमा नर्वे अपराजित रहेको छ।
अब नर्वेले क्वाटरफाइनलमा मेक्सिको र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
हालान्ड गोल्डेन बुट दौडमा
ब्राजिलविरुद्ध दुई गोल गरेपछि एर्लिङ हालान्ड गोल्डेन बुटको प्रतिस्पर्धामा पनि बलियो दाबेदार बनेका छन्। उनले प्रतियोगितामा सात गोल पूरा गर्दै फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीको बराबरी गरेका छन्। असिस्ट र कम समय खेलेको आधारमा भने हालान्ड हाल तेस्रो स्थानमा छन्।
पहिलो पटक विश्वकप खेलिरहेका हालान्डले प्रतियोगितामा खेलेका चारै खेलमा गोल गरेका छन्। उनले समूह चरणमा इराक र सेनेगलविरुद्ध दुई–दुई गोल गरेका थिए भने राउन्ड अफ ३२ मा आइभरी कोस्टविरुद्ध एक गोल गरेका थिए।












