२०८३ असार २२ गते, सोमबार १९:५७

पर्सा नाकामा जनता र सशस्त्र प्रहरीबीच झडप, छोटी भन्सार तत्काल खोल्न सांसद शाक्यको माग

वीरगन्ज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद टेकबहादुर शाक्यले पर्सा क्षेत्र नम्बर ४ को सीमा नाकामा केही दिनदेखि सर्वसाधारण र सशस्त्र प्रहरीबीच भइरहेको झडपप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाक्यले सीमा क्षेत्रको तनाव दिनानुदिन बढ्दै गइरहेको भन्दै स्थिति नियन्त्रण बाहिर जानुअघि नै समाधान खोज्न गृह प्रशासनसँग माग गर्नुभयो।

आफ्नो निर्वाचन क्षेत्रको सतप्रतिशत अर्थात् ६८ किलोमिटर क्षेत्र छिमेकी मुलुक भारतसँग खुला सिमाना रहेको उल्लेख गर्दै उहाँले त्यस क्षेत्रका कुनै पनि छोटी भन्सार सुचारु नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको बताउनुभयो। सदियौँदेखि सामान्य घर-खेत र चुलोमा प्रयोग हुने खानपान, नुन-तेल र बीउबिजनका लागि दुई देशबीच हार्दिक सम्बन्ध रहेको तथा रोटी-बेटी र बिहेबारीको यो सम्बन्ध अत्यन्तै हृदयस्पर्शी रहेको उहाँले उल्लेख गर्नुभयो। तर अहिले तिनै सीमाको रक्षा गरेर बसेका नेपाली जनता त्रसित र आन्दोलित बन्नुपरेको उहाँको भनाइ थियो।

सीमा क्षेत्रका नागरिकले दैनिक गुजाराका लागि ल्याउने न्यूनतम सामग्रीमा पनि प्रशासनले कडाइ गरेको भन्दै उहाँले आक्रोश पोख्नुभयो। दैनिक गुजाराका लागि ल्याइएको १ किलो नुन र १ किलो तेलको भन्सार तिर्न ६८ किलोमिटर टाढा वीरगन्ज भन्सारमा जाऊ भन्नु कुनै पनि दृष्टिकोणले न्यायोचित नहुने भन्दै उहाँले सरकारले जनताको यो बाध्यता बुझ्नुपर्नेमा जोड दिनुभयो।

पर्सा क्षेत्रमा झन्डै ५ हजार मोटरसाइकल र ४ सय जति चारपाङ्ग्रे भारतीय गाडी रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले तीमध्ये अधिकांश बिहेबारी र नातासम्बन्धका कारण भित्रिएका स्पष्ट पार्नुभयो। दैनिक रूपमा नेपाल घुम्न आउने पर्यटक र आफन्तका गाडीहरूलाई नाकामा अवरोध गर्दा नेपालले दैनिक लाखौँको राजस्व गुमाइरहेको उहाँको दाबी थियो। भन्सार महसुल ऐन, २०८१ को अनुसूची ५ मा अस्थायी पैठारी भएका साधन नजिकको बजारसम्म पुगी प्रवेश गरेकै दिन फर्कने भएमा कुनै शुल्क नलाग्ने र भन्सार कार्यालयबाट ‘एन्ट्री निस्सा’ लिनुपर्ने कानुनी व्यवस्था रहेकाले यसलाई तत्काल कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो।

सांसद शाक्यले आफ्नो क्षेत्रमा लामो समयदेखि बन्द अवस्थामा रहेका ठोरी छोटी भन्सार, जानकी टोला भन्सार र भिस्वा छोटी भन्सार तुरुन्त सञ्चालनमा ल्याउन माग गर्नुभयो। ती भन्सारहरू खोलेर सवारी साधनको एन्ट्री निस्सा पत्र दिने व्यवस्था मिलाए जनताको दैनिक गुजारा सहज हुने उहाँको विश्वास थियो। सम्बोधनको अन्त्यमा मधेशको भावना बुझ्न सरकारलाई आग्रह गर्दै उहाँले आफू सधैँ पर्सेली जनताको साथमा रहने प्रतिबद्वता जनाउनुभयो। विगत ३६ वर्षदेखि मधेशले नेता मात्रै बोकेको स्मरण गराउँदै अब यो सरकारले मधेशको पीडा बुझ्न र मधेशलाई बोक्न आवश्यक रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस