वीरगन्ज–
वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी पाएलगत्तै महानगरको प्रशासनिक सुधार र सेवाप्रवाहलाई चुस्त बनाउन तीव्र सक्रियता देखाउनुभएको छ। सेवाग्राहीको गुनासोलाई तत्कालै सम्बोधन गर्ने र कार्यालयभित्रको ढिलासुस्ती अन्त्य गर्ने दृढ संकल्पका साथ कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले शुक्रबार संयुक्त रूपमा महानगरका विभिन्न फाँटहरूको आकस्मिक (छड्के) अनुगमन गर्नुभएको हो।
नेतृत्व तह आफैं अग्रसर भएर कार्यालय समयको सुरुवातमै फाँट–फाँटमा पुगेपछि महानगरका कर्मचारी वृत्तमा तरङ्ग पैदा भएको छ भने वीरगन्जबासीले यो कदमको उच्च प्रशंसा गरेका छन्।
कार्यालय खुल्ने बित्तिकै छड्के, कार्यकक्षमा भेटिएनन् २० कर्मचारी
शुक्रबार बिहान ठीक १०:३० बजे कार्यवाहक नगर प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत बोहराले महानगरका सम्पूर्ण शाखाहरूमा पुगेर कर्मचारीहरूको उपस्थितिको अवस्था नियाल्नुभएको थियो। सो आकस्मिक अनुगमनका क्रममा विभिन्न शाखा र फाँटहरूमा कार्यरत करिब २० जना कर्मचारीहरू आफ्नो कार्यकक्षमा अनुपस्थित भेटिएका थिए।
अनुगमनपछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले प्रशासनिक अनुशासनमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “अनुगमनका क्रममा कार्यकक्षमा नदेखिएका कर्मचारीहरूमध्ये कतिपय बिदामा रहेको, कतिपय फिल्डमा गएको र केही ढिला आएको पाइएको छ। हामी उनीहरूले बुझाउने विवरणको विस्तृत प्रमाणीकरण (भेरिफिकेसन) गर्छौँ। यदि कसैको लापरबाही वा गल्ती भेटिएमा नियमानुसार कडा कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ।” कार्यालय प्रमुख आफैं उपस्थित भई यसरी नियमन गर्नुले महानगरको सुशासनप्रतिको प्रतिबद्धता स्पष्ट झल्किन्छ।
जनभावनाको कदर र प्रशासनिक सुधार
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले यो छड्के अनुगमन केवल कारबाहीका लागि मात्र नभई सेवाग्राहीको मर्का बुझ्न र कर्मचारीहरूको कार्यवातावरण सुधार्न गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “महानगरमा आउने विभिन्न सेवाग्राहीहरूले गर्नुभएको गुनासोलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। त्यसका साथै, पछिल्लो जेन्जी (Gen-Z) आन्दोलन पश्चात् परिवर्तन भएको परिवेशमा महानगरले दिँदै आएको सेवा प्रवाह र कार्यालय व्यवस्थापनमा कर्मचारीहरूलाई के–कस्ता व्यवहारिक अप्ठ्याराहरू परिरहेका छन्, सो समेत प्रत्यक्ष बुझ्न हामीले यो अनुगमन गरेका हौँ।”
कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै आलमले देखाउनुभएको यो तत्परता र प्रमुख प्रशासकीय अधिकृत बोहराको प्रशासनिक कडापनले वीरगन्ज महानगरपालिका जनउत्तरदायी बन्दै गएको बलियो सन्देश दिएको छ। नेतृत्वको यस्तो प्रशंसनीय कदमले आगामी दिनमा महानगरको सेवा प्रवाह थप पारदर्शी, छिटो–छरितो र मर्यादित बन्ने विश्वास सर्वसाधारणले लिएका छन्।











