वीरगन्ज, २९ असार ।
वीरगन्ज महानगरपालिकाको मुख्य सडक क्षेत्रमा सडक विस्तार अभियान तीव्र बनेसँगै सर्वसाधारणको जनजीवन निकै प्रभावित भएको छ। सडक, फूटपाथ र नालामा निर्माण सामग्री तथा घर भत्काइएका भग्नावशेष (फोहोर) थुप्रिँदा सहर कुरुप र आउजाउमा सास्ती भएको हो।
सडक डिभिजन कार्यालय, हेटौंडाले गत वैशाख ६ गतेदेखि शुरू गरेको सडक विस्तार अभियान अन्तर्गत असार २० गतेदेखि दोस्रो चरणको कार्यलाई तीव्रता दिएको छ। यस अन्तर्गत सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र रहेका संरचनाहरू हटाइँदैछ।
घर भत्काउने कार्य जारी, गहवामाई रथयात्रापछि बाँकी क्षेत्रमा डोजर चल्ने
अभियान अन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्म करीब १ हजार २०० घर तथा भौतिक संरचना हटाउने लक्ष्य राखिएको छ। हालसम्म गण्डक चोकदेखि घण्टाघरसम्म तथा मितेरी पुलदेखि बिर्ताचोकसम्मका संरचनामा डोजर चलाएर भत्काउने कार्य सम्पन्न भइसकेको छ।
बाँकी रहेको बिर्ताचोकदेखि घण्टाघरसम्मको क्षेत्रमा भने चौथो गहवामाई रथयात्रा सम्पन्न भएपछि मात्र डोजर चलाइने सडक डिभिजन कार्यालय हेटौंडाका प्रवक्ता एवम् इन्जिनियर दुर्गा प्रसादले गोप्यखबर लाई जानकारी दिए।
मुख्य नालाहरू अवरुद्ध: व्यवस्थापनको जिम्मा सडक डिभिजनकै
सडक विस्तारका क्रममा भवनहरू भत्काउँदा निस्किएका भग्नावशेषका कारण सहरका मुख्य नालाहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसै विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय, पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा खानेपानी संस्थान, वीरगन्ज महानगरपालिका लगायतका प्रतिनिधिहरूको बैठक बसेको थियो।
गोप्यखबर संग कुरा गर्दै सडक डिभिजनका प्रवक्ता ई. दुर्गा प्रसादले नाला सफा गर्ने र भग्नावशेष व्यवस्थापन गर्ने पूर्ण जिम्मेवारी आफ्नै कार्यालयको रहेको स्पष्ट पारे।
“सडक विस्तारको क्रममा भवनका भग्नावशेषका कारण सहरका मुख्य नालाहरू अवरुद्ध भएका छन्। सोको व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रै हो र हामीले आफ्नो काम गरिरहेका छौँ। हामीले आफ्नो टिम परिचालन गरिसकेका छौँ, यद्यपि मौसम (वर्षा) ले हामीलाई चुनौती दिएको छ।”
प्रवक्ता दुर्गा प्रसादका अनुसार बिर्ता र मुरली क्षेत्रमा टोलीहरू खटाएर दिनरात काम भइरहेको छ। मौसमको चुनौतीका बावजुद पनि आउँदो असार ३१ गतेभित्र सडक र नालामा रहेका सबै भग्नावशेषहरू हटाएर ‘क्लियर’ गरिसक्ने प्रतिबद्धता सडक डिभिजनले जनाएको छ।












