काठमाडौं –
थाइल्यान्डको राजधानी बैंककको उत्तरी क्षेत्रमा रहेको एक लोकप्रिय पबमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। अल जजिराका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले सोमबार घटनास्थलबाटै टेलिभिजनमार्फत प्रतिक्रिया दिँदै, “२७ जनाको शव बाहिर निकालिएको छ। केही घाइतेलाई अस्पताल पठाइएको छ र उनीहरूको अवस्थाबारे जानकारी लिइरहेका छौँ,” भने।
प्रधानमन्त्री चानभिराकुलका अनुसार घटनाका बेला पबमा प्रस्तुति दिइरहेका एक संगीतकारले बिजुली जानुअघि मञ्चनजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए। त्यसलगत्तै ठूलो विस्फोटको आवाज सुनिएको र पबभित्र बाक्लो धुवाँ फैलिएको उनले बताएका छन्। अधिकांश मृतक पबको पछाडिपट्टि रहेको शौचालय क्षेत्रमा फेला परेका थिए।
उद्धारकर्मीहरूले सार्वजनिक गरेको भिडियोमा बैंककको उत्तरी क्षेत्रमा रहेको ‘ना लाडप्राओ’ पबको मुख्य प्रवेशद्वारबाट आगोको ठूलो लप्का र धुवाँको मुस्लो निस्किरहेको देखिन्छ। आगलागीपछि मानिसहरू ज्यान जोगाउन भागदौड गरिरहेका दृश्य पनि भिडियोमा कैद छन्। उद्धारकर्मीका अनुसार आगलागीको सूचना मध्यराततिर प्राप्त भएको थियो।
दमकलकर्मीहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। घटनापछिका तस्बिरहरूमा पबभित्रका मेच–कुर्सी जलेर नष्ट भएको तथा भित्री संरचनामा व्यापक क्षति पुगेको देखिएको छ। आगलागीको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्।











