२०८३ असार ३० गते, मंगलवार १०:१७

अविरल वर्षाका कारण नागढुङ्गा र फर्पिङ सडकखण्ड बन्द, नारायणगढ–मुग्लिनमा पनि आवागमन ठप्प

काठमाडौँ

देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो तथा ढुङ्गा खस्ने जोखिम बढेपछि उपत्यका बाहिरिने प्रमुख नाकाहरू ठप्प भएका छन् । विपद्को जोखिमलाई मध्यनजर गर्दै नागढुङ्गाबाट बाहिरिने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।

यसैगरी, सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकखण्डमा पनि सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । यात्राका क्रममा वा विपद्का कारण कुनै समस्या परेमा तुरुन्तै प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड पनि अवरुद्ध

यता उपत्यका जोड्ने अर्को मुख्य राजमार्ग नारायणगढ–मुग्लिन सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ । सो सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदोसहितको पहिरो खसिरहेकाले दुवैतर्फको आवागमन बन्द गरिएको हो ।

अहिले पनि देशका अधिकांश स्थानमा वर्षा जारी रहेका कारण देशभरकै जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । प्रहरीले अत्यावश्यक बाहेकको अवस्थामा यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस