२०८३ असार ३० गते, मंगलवार १०:१७

सप्तकोसीमा पानीको बहाव १ लाख ७२ हजार क्युसेक नाघ्यो: खतराको संकेतस्वरूप रातो बत्ती बालियो, २० ढोका खुला

इनरुवा

पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा जारी अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च रूपमा बढेको छ । पानीको सतह लगातार बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोसी ब्यारेजका २० वटा ढोकाहरू खोलिएका छन् ।

सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार मंगलबार कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ७२ हजार ४३२ क्युसेक पुगेको छ । बहाव बढ्ने क्रम जारी रहेपछि ब्यारेजका कुल ५६ ढोकाहरू (५२ वटा मूल ढोका र २ वटा नहरका ढोका) मध्ये हाल २० वटा ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ ।

पानीको सतह अझै बढ्ने सम्भावना रहेकाले कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । साथै ब्यारेजको कन्ट्रोल रुमका अनुसार त्यहाँ रातो झण्डासमेत फहराइएको छ ।

लगातारको वर्षाका कारण सप्तकोसीसहित पूर्वी नेपालका अन्य नदी तथा खोलाहरूमा पनि पानीको सतह बढिरहेको छ । नदीमा बाढीको जोखिम बढेसँगै स्थानीय प्रशासन र सुरक्षा निकायले तटीय क्षेत्र तथा नदी आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस