२०८३ असार ३० गते, मंगलवार २०:४१

परवानीपुरको बहुअरीमा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न, विद्यार्थीलाई १०० जोर जुत्ता वितरण

परवानीपुर

बारा जिल्लाको परवानीपुर गाउँपालिका–५, बहुअरी टोल स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा मंगलबार विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

तेरापन्थ युवक परिषद् वीरगन्ज, नेपालको आयोजनामा सम्पन्न उक्त शिविरमा विद्यालयका विद्यार्थी र अभिभावक गरी जम्मा ११० जनाको निःशुल्क स्वास्थ्य तथा आँखा परीक्षण गरिएको थियो ।

शिविर सम्पन्न गर्न ग्यालेक्सी प्याकेजिङ इन्डस्ट्रिज प्रा. लि. (Galaxy Packaging Industries Pvt. Ltd.) को विशेष सहयोग रहेको थियो भने आँखा परीक्षण तर्फ किरण आँखा अस्पताल तथा गुडलाइफ मेडिको प्रा. लि. (Goodlife Medico Pvt. Ltd.) ले प्राविधिक सहकार्य गरेका थिए । शिविरमा विशेषज्ञ चिकित्सकहरूले सहभागीहरूको स्वास्थ्य तथा आँखा परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेका थिए ।

शिविरका क्रममा आँखा एलर्जी, आँखाबाट पानी बग्ने जस्ता समस्या भएका बिरामीहरूका साथै पेट दुख्ने, कान दुख्ने र टाउको दुख्ने लगायतका सामान्य स्वास्थ्य समस्या भएकाहरूलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

शिविरकै अवसरमा ग्यालेक्सी प्याकेजिङ इन्डस्ट्रिज प्रा. लि. र तेरापन्थ युवक परिषद् वीरगन्जले संयुक्त रूपमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई १०० जोर जुत्ता निःशुल्क वितरण गरेका थिए ।

कार्यक्रममा विशेष सहयोग तथा उपस्थिति जनाएका ग्यालेक्सी प्याकेजिङका संचालक अमित अग्रवालले सामाजिक सेवा गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महन्थ प्रसादको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रसादले विद्यालयको इतिहासमै पहिलो पटक यस्तो प्रकारको स्वास्थ्य तथा आँखा शिविर आयोजना भएको उल्लेख गरे । यसबाट विद्यार्थी र अभिभावकले प्रत्यक्ष लाभ प्राप्त गरेको उनको भनाइ थियो ।

स्थानीय अभिभावक रामेश्वर पटेलले यस्ता स्वास्थ्य शिविरले बालबालिकाको स्वास्थ्य समस्या समयमै पहिचान गरी उपचार गर्न सहज हुने भन्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए ।

स्थानीयवासीका अनुसार शिक्षा, स्वास्थ्य तथा सामाजिक हितका कार्यक्रमहरूमा निरन्तर सक्रिय रहँदै आएका समाजसेवी तथा राजनीतिमा सक्रिय व्यक्तित्व अजय पटेलले विद्यालय, आयोजक संस्था तथा सहयोगी निकायबीच प्रभावकारी समन्वय गरी शिविर सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष रामेश्वर साह कलवार, वडा सदस्यहरू दारा सिंह पटेल, महेश साह, उषा देवी रामका साथै तेरापन्थ युवक परिषद् वीरगन्जका अध्यक्ष सुनिल दुगर, द्वितीय उपाध्यक्ष सौरभ भुटोरिया, सङ्गठन मन्त्री पियुष जम्मर, सदस्य तथा मिडिया इन्चार्ज आशिष जैन लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक धुरन्धर प्रसादले विद्यालयमा पहिलो पटक यति प्रभावकारी स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक, सहयोगी निकाय, चिकित्सक टोली तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरे ।

तेरापन्थ युवक परिषद् वीरगन्ज, नेपालले निरन्तर रूपमा स्वास्थ्य शिविर, रक्तदान तथा विभिन्न निःशुल्क सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस