काठमाडौं –
भारतका पर्यावरण तथा सामाजिक अभियन्ता सोनाम वाङ्चुकको आमरण अनशन १७औँ दिनमा प्रवेश गरेको छ । नयाँ दिल्लीमा आमरण अनशन बसेका वाङ्चुकको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वाङ्चुकले देशभरिको प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयमा भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन् । प्रश्नपत्र बाहिरिएको उक्त घटनाले करिब २२ लाख चिकित्साशिक्षाका आकांक्षी विद्यार्थीलाई प्रत्यक्ष असर पुगेको थियो । सोही कारण केही विद्यार्थीले आत्महत्या समेत गरेका थिए ।
वाङ्चुक अहिले आन्दोलन भइरहेको स्थानबाट करिब ६ किलोमिटर टाढा बस्ने मन्त्रीसँग आफ्नो माग पूरा गराउने इच्छाशक्तिको लडाइँमा छन् । अनशन सुरु गरेयता उनको तौल आठ किलोग्रामभन्दा बढी घटिसकेको जनाइएको छ ।
वाङ्चुकको रगतमा ब्लड सुगर लेभल पटक–पटक खतरनाकस्तरमा झरेको र उनलाई लगातार चक्कर लागिरहेको तथा शरीरको मांसपेशी निकै घटेको स्पष्ट देखिएको जनाइएको छ ।
यसैबीच, भारतका युवा अभियन्ताको नेतृत्वमा रहेको राजनीतिक दबाब समूह ककरोच जनता पार्टीका संस्थापकले वाङ्चुकको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सरकारले ककरोच जनता पार्टीसँग संवाद नगरेसम्म उनले आफ्नो अनशन अन्त्य गर्न अस्वीकार गरेका छन् ।
“मलाई अनशन तोड्न नभन्नुहोस्, बरु सरकारलाई सोध्नुहोस् कि उनीहरू किन संवाद समेत गर्न चाहँदैनन्,” उनको भनाइ उद्धृत गर्दै ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले मंगलबार बिहान भने ।
“यो कस्तो खालको सरकार हो ? सोनाम वाङ्चुक यसै देशका नागरिक हुन् । उनले आफ्नो काममार्फत भारतलाई विश्वभर चिनाएका छन् । आज उनी यस देशका विद्यार्थीहरूका निम्ति लडिरहेका छन्, तैपनि सरकारले उनीसँग कुरा गर्न एउटै मन्त्री वा प्रतिनिधिमण्डल समेत पठाएको छैन । सरकारको यो पूर्ण उदासीनता अत्यन्तै दुर्भाग्यपूर्ण छ,” दीपकेले विज्ञप्तिमा भनेका छन् ।
ककरोच जनता पार्टीका प्रवक्ताले भारतभरका विद्यार्थी, अभिभावक र नागरिकलाई यही जुलाई २० मा वाङ्चुकसँगै नयाँ दिल्लीको जन्तरमन्तरदेखि संसद्सम्म हुने शान्तिपूर्ण र्यालीमा सहभागी हुन आग्रह गरेका छन् । डीडब्ल्यूबाट ।











