जनकपुर –
केन्द्रमा नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धन संकटमा परे पनि मधेश प्रदेश सरकार भने तत्कालका लागि सुरक्षित बनेको छ। प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका प्रदेशस्तरीय नेताहरूबीच सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति भएपछि सरकारको बहुमत कायम रहने भएको हो।
मुख्यमन्त्री कृष्णा यादवको निवासमा बिहीबार भएको बैठकमा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादव र नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराई सहभागी थिए। बैठकले प्रदेशको राजनीतिक स्थायित्वलाई प्राथमिकता दिँदै हालको गठबन्धन यथावत् राख्ने निर्णय गरेको हो।
एमाले नेता सरोजकुमार यादवले प्रदेशको निर्णयबारे पार्टी नेतृत्वलाई जानकारी गराइसकेको बताउँदै मधेशको विशेष राजनीतिक अवस्थाका कारण गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखिएको बताए।
यद्यपि, कांग्रेसभित्र भने यस निर्णयप्रति मतभेद देखिएको छ। केही प्रदेश तथा केन्द्रीय नेताहरूले अन्य प्रदेशमा एमालेसँग सहकार्य अन्त्य भइसकेको अवस्थामा मधेशमा पनि गठबन्धन कायम रहन नहुने धारणा सार्वजनिक गरेका छन्। उनीहरूको भनाइमा प्रदेशको भविष्यबारे अन्तिम निर्णय पार्टीको केन्द्रीय नेतृत्वले गर्नेछ।
देशका अन्य प्रदेशमा गठबन्धन फेरबदल र राजनीतिक अस्थिरता बढिरहेका बेला मधेश प्रदेशमा भने तीन दलको बहुमत यथावत् रहेकाले सरकार तत्काल खतरामुक्त बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यद्यपि, केन्द्रको भावी राजनीतिक समीकरणले मधेश प्रदेशको सत्ता समीकरणमा दीर्घकालीन प्रभाव पार्न सक्ने आकलन गरिएको छ।












