काठमाडौं –
वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या एक वर्षमै उल्लेख्य रूपमा घटेको छ। पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको तुलनामा ५.६० प्रतिशत (४७ हजार ७४ जना) ले घटेको देखिएको छ। लामो समयदेखि निरन्तर बढ्दो क्रममा रहेको वैदेशिक रोजगारीमा पहिलो पटक आएको यो गिरावटले श्रम बजारमा नयाँ संकेत दिएको छ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १९६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। जबकि आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ८ लाख ३९ हजार २७० थियो। अर्थात् एक वर्षमै ४७ हजारभन्दा बढी नेपालीले विदेश जाने श्रम स्वीकृति लिन छाडेका छन्।
तथ्यांकअनुसार पछिल्लो आर्थिक वर्षमा दैनिक औसत २ हजार १७० जना ले मात्र श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष दैनिक औसत २ हजार २९९ जना विदेशिने तयारीमा थिए। यसले दैनिक करिब १३० जनाले कम श्रम स्वीकृति लिएको देखाउँछ।
गत आर्थिक वर्षको मासिक विवरण हेर्दा वैशाखमा सबैभन्दा बढी ७४ हजार ४२९ जनाले श्रम स्वीकृति लिए भने फागुनमा सबैभन्दा कम ५२ हजार ९४४ जनाले मात्रै स्वीकृति लिएका थिए। अधिकांश महिनामा अघिल्लो वर्षको तुलनामा श्रम स्वीकृति लिनेको संख्या घटेको विभागको तथ्यांकले देखाएको छ।
यद्यपि संख्या घटे पनि वैदेशिक रोजगारीप्रतिको निर्भरता भने अझै उच्च छ। पछिल्लो ११ वर्षमा ५४ लाख १३ हजार ६७८ जनाले श्रम स्वीकृति लिएका छन् भने ३३ वर्षको अवधिमा ९३ लाख ४३ हजार ६६२ वटा श्रम स्वीकृति जारी भएको विभागको अभिलेखमा उल्लेख छ।
विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या घट्नुका पछाडि गन्तव्य मुलुकहरूको श्रम नीतिमा परिवर्तन, अन्तर्राष्ट्रिय श्रम बजारको मागमा उतारचढाव, केही देशमा रोजगारीका अवसर खुम्चिनु तथा स्वदेशमै रोजगारी र उद्यमतर्फ केही युवाको आकर्षण बढ्नुजस्ता कारण हुन सक्ने अनुमान गरिएको छ। तर यसको वास्तविक कारणबारे विस्तृत अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ।











