२०८३ श्रावण १० गते, आईतवार ०८:५३

अदुवाभित्र लुकाएर गाँजा तस्करी, ३३० किलो गाँजासहित एक जना पक्राउ

सर्लाही –

मधेस प्रदेशलाई लागूऔषध तस्करीको ट्रान्जिट रुट बनाउने प्रयासविरुद्ध प्रहरीले कारबाही तीव्र बनाइरहेका बेला सर्लाहीमा अदुवाभित्र लुकाएर ठूलो परिमाणमा गाँजा ओसारपसार गर्न खोजिएको घटना सार्वजनिक भएको छ।

सर्लाही प्रहरीले १३ क्विन्टल अदुवा बोकेको बोराभित्र लुकाइएको ३३० किलोग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको पिकअप गाडीसहित बलरा नगरपालिका–७ डुमरियाबाट २८ वर्षीय अमरजित राउतलाई पक्राउ गरेको हो।

सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फार्ममा पिकअप गाडीबाट गाँजा झारिँदै गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।

सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कुखुरा फार्ममा छापा मारेर खानतलासी गर्दा २६ वटा बोरामा राखिएको १३ क्विन्टल अदुवा फेला पारेको थियो। ती बोराभित्र थप १९ वटा पोकामा लुकाएर राखिएको अवस्थामा ३३० किलोग्राम गाँजा बरामद भएको एसपी पौडेलले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट बलरा नगरपालिका–७ डुमरिया निवासी राउतलाई पक्राउ गरेको हो। गाँजा तथा अदुवा ओसारपसारमा प्रयोग भएको बागमती प्रदेश ०१–०२६ च २८८६ नम्बरको पिकअप गाडीसहित बरामद लागूऔषध प्रहरीले नियन्त्रणमा लिएको छ।

मधेस प्रदेशलाई लागूऔषध तस्करीको मार्गका रूपमा प्रयोग गर्ने कारोबारी तथा तस्करविरुद्ध प्रहरीले पछिल्लो समय निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। सीमा क्षेत्रदेखि भित्री जिल्लासम्म लागूऔषधको ओसारपसार नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको छ।

प्रहरीले लागूऔषध कारोबारीमाथि कडा निगरानी बढाउँदै उनीहरूलाई पक्राउ गर्न आवश्यक परे बल प्रयोग गर्नसमेत पछि नपर्ने रणनीति अपनाएको जनाएको छ। सर्लाहीमा बरामद गरिएको गाँजा, अदुवा, पिकअप गाडी र पक्राउ परेका राउतका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस