वीरगन्ज-
मधेस प्रदेशलाई लागूऔषध ओसारपसारको ट्रान्जिट रुट बनाउने प्रयासविरुद्ध प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ। पछिल्लो समय प्रहरीले लागूऔषध कारोबारी तथा तस्करमाथि निगरानी बढाउँदै देशका विभिन्न स्थानबाट ठूलो परिमाणमा गाँजा र ब्राउन सुगर बरामद गर्न थालेको छ।
यसैक्रममा पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले १४० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा कसले र कुन उद्देश्यले बगैंचामा लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार गएराति करिब ९ बजे बगैंचामा बेवारिसे अवस्थामा राखिएको गाँजा फेला परेको हो। बरामद गाँजा ओसारपसारमा संलग्न व्यक्तिको पहिचान तथा त्यसको गन्तव्यबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पर्सामा ठूलो परिमाणमा गाँजा बरामद भइरहेका बेला काठमाडौं र मोरङमा पनि लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। काठमाडौंको सुन्दरीजलबाट प्रहरीले ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२ आलापोटमा बस्दै आएका २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजलका ५४ वर्षीय अम्बक तामाङ रहेका छन्। उनीहरू बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला गएराति करिब १ बजे गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।
यस्तै, मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का रणध्वज राई रहेका छन्।
रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार राईलाई प्रहरीले गएराति करिब साढे १० बजे पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय पथरी, मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











