२०८३ श्रावण ११ गते, सोमबार १७:३९

भारतमा प्रश्नपत्र लिकपछि शिक्षामन्त्रीको राजीनामा, २४ घण्टा नबित्दै नेपालमा पनि प्रश्नपत्र बाहिरियो

काठमाडौं ।

भारतमा प्रश्नपत्र लिक प्रकरणकै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको २४ घण्टा नबित्दै नेपालमा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटना सार्वजनिक भएपछि शिक्षा क्षेत्र तरंगित बनेको छ। त्रिविको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि प्रकरण थप गम्भीर बनेको हो।

प्रश्नपत्र लिक प्रकरणमा पक्राउ परेका व्यक्तिका विषयमा प्रहरीले औपचारिक रूपमा सार्वजनिक जानकारी दिएको छैन। शिक्षा मन्त्रालय स्रोतका अनुसार उनीहरूलाई सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

प्रहरीका एक उच्च अधिकारीले पनि प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान तीव्र पारिएको र केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। घटनाबारे शिक्षा मन्त्री सस्मित पोखरेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच समेत छलफल भएको स्रोतले जनाएको छ।

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयअन्तर्गत सञ्चालित मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षा चलिरहेकै समयमा बाहिरिएको थियो। साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको एक विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल तथा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको खुलेको हो।

‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको बताइएको छ। प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै ‘टीयू स्टुडेन्ट्स’ नामक फेसबुक पेजले समेत त्रिविको ध्यानाकर्षण गराएको थियो।

प्रश्नपत्र परीक्षा सुरु हुनासाथ बाहिरिएको घटनाले त्रिविको परीक्षा प्रणाली, प्रश्नपत्र सुरक्षा तथा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। घटनापछि त्रिवि व्यवस्थापन संकायका डिनको समेत राजीनामा माग गरिएको छ।

परीक्षाको गोपनीयता र विश्वसनीयतामाथि प्रत्यक्ष असर पर्ने गरी प्रश्नपत्र बाहिरिएको घटनाको नैतिक जिम्मेवारी सम्बन्धित पदाधिकारीले लिनुपर्ने भन्दै विद्यार्थी तथा सरोकारवालाले डिनको राजीनामा माग गरेका हुन्।

भारतमा प्रश्नपत्र लिक प्रकरणकै कारण शिक्षामन्त्रीले राजीनामा दिएको घटना सेलाउन नपाउँदै नेपालमा समेत त्रिविको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिनुले दक्षिण एसियाली शिक्षा प्रणालीमा प्रश्नपत्र सुरक्षाको चुनौतीलाई पुनः उजागर गरेको छ। त्रिवि प्रकरणमा दोषीमाथि कस्तो कारबाही हुन्छ र परीक्षा प्रणाली सुधारका लागि विश्वविद्यालयले के कदम चाल्छ भन्ने विषयमा विद्यार्थी तथा अभिभावकको चासो बढेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस