नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन अन्त्य
काठमाडौं । स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै साउन १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच गएराति १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटले आफ्नो अनसनसहितका सबै आन्दोलनका कार्यक्रम अन्त्य गरेकी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा, कानुन अधिकृत जयप्रसाद सुवेदी तथा अभियन्ता रानाभाटबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा–सुविधा निर्धारणका लागि सात दिनभित्र कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले छ महिनाभित्र आफ्नो प्रतिवेदन तथा सिफारिस पेश गर्ने सहमति भएको छ।
त्यसैगरी अस्पतालहरूमा ‘मिनिमम सर्भिस स्ट्यान्डर्ड’ र ‘पेसेन्ट सेफ्टी’ मापदण्ड अनिवार्य रूपमा लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालनसम्बन्धी निर्देशिका परिमार्जन गर्ने, ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ सम्बन्धी मापदण्ड संशोधन गर्ने तथा स्वास्थ्य शिक्षा प्रवेश परीक्षा नीतिमा सुधार गर्ने विषयमा पनि सहमति भएको छ।
यस्तै, दीर्घकालीन तथा नीतिगत सुधारअन्तर्गत नर्स/मिडवाइफ र बिरामीको उचित अनुपात कायम गर्न आवश्यक दरबन्दी सिर्जना गर्ने, करार सेवाको व्यवस्था क्रमशः हटाउँदै स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउने, स्वास्थ्य सेवा ऐन संशोधन गरी नर्सिङ क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि कम्तीमा २५ प्रतिशत जोखिम भत्ता सुनिश्चित गर्ने तथा नर्सिङ सेवामा विशेषज्ञ पद सिर्जनाका लागि कार्यदल गठन गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ।
सरकार र आन्दोलनरत पक्षबीच भएको यो सहमतिसँगै स्वास्थ्य क्षेत्रका विभिन्न नीतिगत सुधार र सेवा-सुविधासम्बन्धी माग सम्बोधन हुने अपेक्षा गरिएको छ।











