२०८३ भाद्र २ गते, मंगलवार १६:५२

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

बिरगन्ज-

विभिन्न सञ्चारमाध्यममा आफूले कार्यवाहक प्रमुख इम्तियाज आलमले भनेअनुसार काम गर्न नसक्दा राजीनामा दिएको भनी लामिछानेले गरेको दाबीप्रति कार्यवाहक मेयरको सचिवालयले गम्भीर ध्यानाकर्षण गराउँदै उनको वास्तविकता सार्वजनिक गरेको हो।

उपमेयर आलमले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै विभिन्न विद्यालय, शिक्षक तथा सर्वसाधारणबाट लामिछानेविरुद्ध गम्भीर लिखित उजुरी परेका थिए। उजुरीमा लामिछानेले कामबापत रकम माग गरेको र रकम नदिएपछि लामो समयदेखि विभिन्न कामहरू अलपत्र पारेको उल्लेख छ। उजुरी परेपछि कार्यवाहक मेयर आलम र प्रमुख प्रशासकीय अधिकृतले उनलाई मौखिक स्पष्टीकरण सोधेका थिए।

तर, लामिछानेले दिएको जवाफ चित्तबुझ्दो नभएपछि महानगरपालिकाले साउन १४ गते (चलानी नम्बर ५७९) को पत्रमार्फत उनलाई शिक्षा प्रमुखको पदबाट हटाएको थियो। सो पदमा तत्कालका लागि सोही कार्यालयमा कार्यरत सृजना बुढाथोकीलाई जिम्मेवारी दिइएको छ भने हाल उनी बिदामा बसेकि छन्।

आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्न, महानगरको आन्तरिक छानबिनलाई प्रभावित पार्न र यस मुद्दालाई राजनीतिक रूप दिई कार्यवाहक प्रमुखको बदनामी गराउन उनले मिडियाबाजी गरेको सचिवालयको दाबी छ।

कार्यवाहक मेयरका प्रेस सल्लाहकार सदाब हुसैनका अनुसार, “यदि आनन्द लामिछानेले साँच्चै राजीनामा दिएका हुन् भने त्यो राजीनामा पत्र कहाँ छ? उनले त्यसलाई सार्वजनिक गर्नुपर्छ।” आधारहीन र प्रमाणविहीन कुराका पछाडि नलाग्न आग्रह गर्दै हुसैनले थपे, “समाचार लेख्नुअघि पुष्टि गर्नु पत्रकारिताको पहिलो धर्म हो। कार्यवाहक मेयर आलमले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्न आन्तरिक छानबिन तीव्र पार्नुभएको छ। यदि लामिछाने निर्दोष छन् भने छानबिनमा सघाउनुपर्छ, झूटा कथा बनाएर मिडियाबाजी गर्ने होइन। छानबिनबाट दोषी देखिए उनी कानुनी कारबाहीका लागि तयार हुनुपर्छ।”

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस