२०८३ भाद्र ३ गते, बुधबार ०४:१५

एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा (BLS) तालिम सम्पन्न

वीरगन्ज

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगन्जमा एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा (Basic Life Support-BLS) सम्बन्धी विशेष तालिम सफलतापूर्वक सम्पन्न भएको छ। GTA Foundation को सहकार्यमा आयोजित उक्त तालिममा ३४ जना एम्बुलेन्स चालकहरूको सक्रिय सहभागिता रहेको थियो।

​अस्पताल पुग्नुअघि प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले मंगलबार बिहान ९:३० देखि १२:३० बजेसम्म कलेजको सभाहलमा तालिम सञ्चालन गरिएको हो। GTA Foundation द्वारा सञ्चालन भइरहेको “नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता” सम्बन्धी अध्ययनअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

​तालिमका क्रममा सहभागीहरूलाई आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (CPR), प्राथमिक उपचारका विधि तथा जीवनरक्षासम्बन्धी विभिन्न व्यावहारिक सीपहरू सिकाइएको थियो। तालिम पूरा गरेका चालकहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ।

​कलेजका अस्पताल निर्देशक डा. इशरत जहानको नेतृत्वमा सम्पन्न कार्यक्रममा GTA Foundation का तर्फबाट इन्टरभेन्सन तथा अनुसन्धान विकास अधिकृत एवं प्रशिक्षक ललिता अवाल, अनुसन्धान सहायकहरू रुबी श्रेष्ठ र ललिता कुँवरको उपस्थिति थियो। साथै BLS-ToT तालिमप्राप्त नर्सिङ इन्चार्जद्वय गोमा के.सी. र दुर्गा चापागाईंले पनि प्रशिक्षणमा सहजीकरण गर्नुभएको थियो।

​आकस्मिक स्वास्थ्य सेवाको पहिलो सम्पर्क बिन्दुका रूपमा रहेका एम्बुलेन्स चालकहरूको क्षमता अभिवृद्धिले बिरामीको सुरक्षित स्थानान्तरण र समुदायस्तरमा स्वास्थ्य सेवाको गुणस्तर बढाउन ठूलो योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस