२०८३ भाद्र ३ गते, बुधबार १७:२३

रुसले गोप्य मार्गबाट इरानलाई हतियार पठाउँदै

काठमाडौं –

रुसले गोप्य समुद्री मार्ग प्रयोग गर्दै इरानको कमजोर बनेको सैन्य भण्डार पुनःभर्न सहयोग गरिरहेको खुलासा भएको छ। एनबीसी न्युजका अनुसार रुसले इरानलाई टीएनटी विस्फोटक पदार्थ, ड्रोनका पार्टपुर्जा र गोलाबारुद पठाइरहेको छ।

एक युरोपेली सरकारको दस्तावेजलाई उद्धृत गर्दै तयार पारिएको विवरणअनुसार, भू–उपग्रह तस्बिरहरूले ब्यालिस्टिक मिसाइल निर्माणमा प्रयोग हुने केही पार्टपुर्जासमेत इरान पठाइएको हुन सक्ने संकेत गरेका छन्। अमेरिका र इजरायलसँगको हालैको युद्धका क्रममा इरानको सैन्य भण्डारमा उल्लेख्य कमी आएको थियो।

रुसले सैन्य सामग्री पठाउन क्यास्पियन सागरको समुद्री मार्ग प्रयोग गरिरहेको बताइएको छ। क्यास्पियन सागर रुस, इरान, काजाकिस्तान, तुर्कमेनिस्तान र अजरबैजानसँग जोडिएको छ।

यो समुद्री मार्गले पश्चिमी मुलुकको निगरानीबाट जोगिन सहज बनाउने बताइएको छ। क्यास्पियन सागरमा आवतजावत गर्ने जहाजले ट्रयाकिङ प्रणाली बन्द गर्न सक्ने भएकाले तिनको गतिविधि निगरानी गर्न कठिन हुने गरेको जनाइएको छ।

क्यास्पियन सागर रुस र इरानबीच सुरक्षित ‘ब्याकडोर’ तथा रणनीतिक समुद्री मार्गका रूपमा प्रयोग भइरहेको बताइएको छ। यसमार्फत दुवै देशले अन्तर्राष्ट्रिय प्रतिबन्ध र पश्चिमी मुलुकको निगरानीबाट जोगिँदै सैन्य सामग्री ओसारपसार गर्न सक्ने आकलन गरिएको छ।

पहिले इरानले रुसलाई ड्रोन दिन्थ्यो, अहिले रुसबाट सहयोग

युक्रेन युद्धका क्रममा इरानले रुसलाई ‘शाहेद’ ड्रोन उपलब्ध गराएको थियो। अहिले भने रुसले इरानको घटेको सैन्य भण्डार पुनःभर्न सहयोग गरिरहेको बताइएको छ।

इजरायलले यसअघि इरानका महत्वपूर्ण बन्दरगाह तथा सैन्य आपूर्ति सञ्जाललाई लक्षित गरी आक्रमण गरिसकेको छ। ‘द टाइम्स अफ इजरायल’का अनुसार इजरायली आक्रमणमा बन्दर अञ्जली बन्दरगाहका केही संरचना तथा इरानी नौसेनासँग सम्बन्धित स्थानमा क्षति पुगेको थियो। उक्त बन्दरगाह इरानमा सैन्य सामग्री पुर्‍याउने समुद्री सञ्जालको एक हिस्सा मानिन्छ।

चीनबाट पनि मिसाइलका पार्टपुर्जा

इरानको रक्षा मन्त्रालय तथा सशस्त्र बलको लजिस्टिक संस्थाले देशमा उत्पादन हुने ब्यालिस्टिक मिसाइलमा रुस र चीनमा निर्मित केही पार्टपुर्जाको प्रयोग बढाइरहेको बताइएको छ।

यी पार्टपुर्जाको प्रयोग मुख्यतः इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) अन्तर्गतको एरोस्पेस फोर्ससँग सम्बन्धित कार्यक्रमहरूमा भइरहेको जनाइएको छ।

यो इरानले अघि बढाइरहेको ‘पूर्वतर्फ हेर्ने’ रणनीतिको एक हिस्सा भएको बताइएको छ। यसअन्तर्गत इरानले पश्चिमी मुलुकमाथिको निर्भरता घटाउँदै रुस र चीनसँग सैन्य तथा प्राविधिक सहयोग विस्तार गरिरहेको छ।

चीनले पनि इरानलाई विभिन्न प्रकारका प्राविधिक सहयोग उपलब्ध गराइरहेको बताइएको छ। यसमा बेइदौ नेभिगेसन प्रणाली, राडार तथा निगरानी प्रविधि र ठोस इन्धनयुक्त मिसाइल उत्पादनमा प्रयोग हुने सामग्री समावेश छन्।

रुसले इरानलाई भू–उपग्रह तस्बिरसमेत उपलब्ध गराइरहेको बताइएको छ। यसको सहयोगमा इरानी सेनाले सैन्य स्थानको निगरानी तथा सम्भावित आक्रमणका लागि लक्ष्य पहिचान गर्ने क्षमता बढाउन सक्ने आकलन गरिएको छ।

रुस र इरानले यी सैन्य सामग्रीको आपूर्तिबारे कुनै प्रतिक्रिया दिएका छैनन्। रुसले यसअघि पनि इरानलाई सैन्य सामग्री उपलब्ध गराएको भन्ने समाचार अस्वीकार गर्दै आएको छ। रुसले घोषित सैन्य सहयोगबाहेक इरानलाई अन्य सैन्य सामग्री उपलब्ध नगराएको दाबी गर्दै आएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस