काठमाडौं –
तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएपछि टिमुरेमा खटिएका नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। बाढीका कारण जिल्लाका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा समेत ठूलो क्षति पुगेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेमा खटिएका नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। उनीहरूसँग सम्पर्क स्थापित गर्न निरन्तर प्रयास भइरहेको भए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको उनले बताए।
अचानक आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ। तर, बाढीको तीव्र बहाव र सडक तथा पूर्वाधारमा पुगेको क्षतिका कारण घटनास्थलको यकिन अवस्था र मानवीय क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको छ।
यसैबीच, बाढीले रसुवाको ऊर्जा पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ।
यस्तै, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्। विद्युत् उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले क्षतिग्रस्त संरचनाको निरीक्षण तथा मर्मत गरी विद्युत् आपूर्ति यथाशीघ्र नियमित गर्ने प्रयास भइरहेको जनाएको छ। आपूर्ति नियमित नभएसम्म उपभोक्तालाई धैर्य गर्न आग्रह गरिएको छ।
बाढीले विद्युत् संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।
यसैबीच, बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको किनार, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका नागरिक तथा सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
अचानक आएको बाढीका कारण टिमुरे, रसुवागढी र आसपासका क्षेत्रमा सम्पर्क तथा आवागमनसमेत प्रभावित भएको छ। उद्धार टोलीले सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्य अघि बढाउने प्रयास गरिरहेको छ।
बाढीको वास्तविक क्षति र सम्पर्कविहीन नौ सशस्त्र प्रहरीको अवस्थाबारे थप विवरण आउन बाँकी छ। सम्बन्धित निकायले आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत आग्रह गरेका छन्।









