२०८३ भाद्र ११ गते, बिहीबार ११:०१

भोटेकोशी बाढीमा परी बारा–पर्साका १५ जनासहित मधेशका ३० जना सम्पर्कविहीन (सूचीसहित)

वीरगन्ज- चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मधेश प्रदेशका ३० जना नागरिक सम्पर्कविहीन भएका छन्। तीमध्ये सबैभन्दा बढी बारा र पर्साका नागरिक छन्। बाढीपछि आफन्त र परिवारजनमा त्रास बढिरहेका बेला मधेश प्रदेश प्रहरी कार्यालयले बिहीबार सम्पर्कविहीन नागरिकहरूको नामावली सार्वजनिक गरेको हो।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बारा–पर्साका मात्रै १५ जना बाढीपछि सम्पर्कविहीन छन्। उनीहरूमध्ये अधिकांश वीरगन्ज, कलैया तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिक हुन्।

बारा–पर्साका नागरिकको अवस्था अज्ञात

प्रहरीका अनुसार पर्सा तथा पर्सामा अस्थायी बसोबास गर्नेहरूमध्ये वीरगन्ज–१४ का नगनारायण पटेल, कलैया–२२ का सुबोध पटेल र अरुण हजरा, वीरगन्ज–१५ का श्यामबाबु ठाकुर तथा पृथ्वी चौधरी, वीरगन्ज–१३ का कमरुल होदा अंसारी र वीरगन्ज–४ का अनुतमबहादुर श्रेष्ठ सम्पर्कविहीन छन्।

यस्तै बरियारपुर–८ का सुभाष पटेल, परवानीपुर–४ का समिम देवान र निजगढका दिनेश परियार पनि बाढीपछि सम्पर्कमा आएका छैनन्।

पर्सामा अस्थायी रूपमा बस्दै आएका हेटौँडाका उकेश दंगोल, अभिषेक बास्तोला, घनश्याम बास्तोला, सिन्धुलीका संजय तामाङ र पालुङका आकाश तामाङको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

बाराको परवानीपुर–५ का ३५ वर्षीय नम नारायण सिंह, कलैया–२२ का २३ वर्षीय सत्यप्रकाश राम र आदर्श कोतवाल–१ का २३ वर्षीय अन्कित पटेल पनि सम्पर्कविहीनको सूचीमा छन्।

बारा–पर्साबाट मात्रै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएपछि आफन्तजनमा चिन्ता थपिएको छ। उनीहरूको वास्तविक अवस्था पत्ता लगाउन तत्काल खोज तथा उद्धार अभियान तीव्र बनाउनुपर्ने मागसमेत उठेको छ।

रौतहट, सर्लाही र सप्तरीका नागरिक पनि सम्पर्कविहीन

प्रहरीका अनुसार रौतहटको वृन्दावन–२ का ३४ वर्षीय गौरव राउत र ईशनाथ–४ का १९ वर्षीय शेख मजिद पनि बाढीपछि सम्पर्कविहीन छन्।

सर्लाहीको लालबन्दी–९ का ५२ वर्षीय माधव काफ्ले र उनका २२ वर्षीय छोरा अनुज काफ्ले, लालबन्दी–५ का कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा तथा हरिवन–५ का सुनिल कुशवाहाको अवस्था पनि अज्ञात रहेको प्रहरीले जनाएको छ।

त्यस्तै सप्तरीको विष्णुपुर–१ का अजयकुमार यादव र शम्भुनाथ–८ का साजन चौधरी पनि सम्पर्कविहीन छन्।

दुई जनाको सकुशल उद्धार

प्रहरीका अनुसार सम्पर्कविहीनको सूचीमा रहेका सर्लाही लालबन्दीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तानको सकुशल उद्धार भएको छ। उनीहरू अहिले सम्पर्कमा आइसकेका छन्।

यसअघि सम्पर्कविहीन भनिएका धनुषाका दुई जना नागरिक पनि बुधबार राति नै सकुशल सम्पर्कमा आएको प्रदेश प्रहरीले जनाएको छ।

खोजी तीव्र, परिवारलाई धैर्य गर्न आग्रह

सम्पर्कविहीन रहेका अन्य नागरिकको अवस्था पत्ता लगाउन सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्य तीव्र पारिएको प्रदेश प्रहरीले जनाएको छ।

प्रहरीले प्रभावित परिवार तथा आफन्तजनलाई विचलित नहुन आग्रह गर्दै सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनमा तत्काल जानकारी गराउन अपिल गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस