२०८३ भाद्र ११ गते, बिहीबार १९:५२

वीरगन्ज महानगरद्वारा वडा नं. २ मा निर्मित सामुदायिक धर्मशालाको उद्घाटन: सामाजिक कार्यमा टेवा पुग्ने विश्वास

वीरगन्ज

वीरगन्ज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ। वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले उक्त धर्मशाला भवनको विधिवत् उद्घाटन गर्नुभएको हो।

​उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले स्थानीय समुदायको सामाजिक तथा सांस्कृतिक कार्यहरूलाई सहज बनाउन धर्मशालाले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। नगरवासीको वास्तविक आवश्यकता र समग्र विकास निर्माणका कार्यहरूलाई महानगरपालिकाले सधैं प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँको भनाइ थियो।

​कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य अब्दुल लतिफ अंसारी, सामुदायिक सेवा समितिका अध्यक्ष ग्यासुदिन ठकुराई लगायत स्थानीय सामाजिक अगुवा तथा सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो।

​कार्यक्रमका सहभागी वक्ताहरूले वडास्तरमै सुविधासम्पन्न धर्मशाला निर्माण भएपछि स्थानीयवासीलाई विभिन्न धार्मिक, सामाजिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न ठूलो सहजता मिल्ने भन्दै खुसी व्यक्त गरेका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस