वीरगन्ज-
रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति वीरगञ्ज महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। शनिबार कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक बोर्ड बैठकले बाढी विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते तथा प्रभावित सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित उद्धारको कामनासमेत गरिएको छ।
उक्त आकस्मिक बोर्ड बैठकले प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशमै उदाहरणीय बन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख रकम जम्मा गर्ने निर्णय गरेको छ। महानगरका प्रशासन एवं व्यवस्थापन महाशाखा प्रमुख कीर्तिराज सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कार्यपालिका सदस्यहरूको एक महिनाको सेवा-सुविधा, ३२ वटै वडाबाट प्रतिवडा रु. १ लाख २५ हजारका दरले कटौती गरिएको बजेट, कर्मचारीहरूको पारिश्रमिक र बाँकी अपुग रकम प्रकोप व्यवस्थापन कोषबाट व्यहोर्ने गरी उक्त सहयोग रकम जुटाइएको हो।
देशका प्रमुख शहरहरूलाई पछि पार्दै वीरगञ्जको ठूलो योगदान
विपत्तिको यस घडीमा देशका विभिन्न स्थानीय तहहरूले आ-आफ्नो क्षमताअनुसार राहत रकमको घोषणा गरिरहेका छन्। तर, मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले देखाएको यो पहल देशका अन्य प्रमुख शहरहरूको तुलनामा सबैभन्दा ठूलो र फराकिलो देखिएको छ।
राहत सहयोगका मामलामा अन्य पालिकाको अवस्था हेर्दा भरतपुर महानगरपालिकाले रु. १ करोड १ लाख, बुटवल उपमहानगरपालिकाले रु. ५१ लाख, पोखरा महानगरपालिकाले रु. ४५ लाख र विराटनगर महानगरपालिकाले रु. २५ लाख ५१ हजार सहयोगको घोषणा गरेका छन्। उता काठमाडौँ महानगरपालिकाले भने नगद कोषको सट्टा घाइतेहरूको सम्पूर्ण उपचार र प्राविधिक उद्धार टोली परिचालनमा ध्यान केन्द्रित गरेको छ। यसरी हेर्दा नगद सहायता हस्तान्तरण गर्ने पालिकाहरूको सूचीमा वीरगञ्ज महानगरपालिका अग्रस्थानमा उभिएको छ।
कार्यवाहक प्रमुख आलमको तदारुकता र कुशल नेतृत्व
बाढीको खबर प्राप्त हुनासाथ कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले देखाएको द्रुत निर्णय क्षमता र तदारुकताको चौतर्फी प्रशंसा भइरहेको छ। शनिबार नै आकस्मिक बोर्ड बैठक डाकेर नगरका ३२ वटै वडा, जनप्रतिनिधि र कर्मचारी संयन्त्रलाई एकताबद्ध बनाउँदै रु. १ करोड ११ लाख जस्तो भारी रकम जुटाउनुले उनको कुशल प्रशासनिक पकड र उच्च मानवीय संवेदनालाई स्पष्ट पारेको छ।
तराई र हिमालको सम्बन्धलाई थप मजबुत बनाउँदै कार्यवाहक प्रमुख आलमको यो कदमले संकटको समयमा पर्साबासी सधैँ देशको साथमा रहेको बलियो सन्देश प्रवाह गरेको छ। साथै, प्रभावित क्षेत्रमा कुनै वीरगञ्जवासी फसेको वा उद्धार आवश्यक परेमा तत्काल स्थानान्तरण र सहयोगका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको महानगरले जनाएको छ।











