२०८३ भाद्र १४ गते, आईतवार १३:४२

पूरै देश शोकमा डुबेका बेला राहतका नाममा ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

वीरगन्ज

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा परी सयौँले ज्यान गुमाएका छन् भने सयौँ अझै बेपत्ता छन्। आफन्त गुमाएको पीडा र बेपत्ताको खोजीमा देश नै शोक र चिन्तामा रहेका बेला यही मानवीय संवेदनामाथि खेल्दै राहतका नाममा ठगी गर्ने प्रयास भएको खुलेको छ।

बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग जुटिरहेका बेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम दुरुपयोग गरी नक्कली बैंक स्टेटमेन्ट र क्यूआर कोड बनाएर रकम संकलन गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसे बस्ने ३२ वर्षीय भगवान् कार्कीलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउने नक्कली स्टेटमेन्ट तयार गरेका थिए। उनले सोही नक्कली विवरणलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफ्नै क्यूआर कोडसमेत राखेर रकम संकलन गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

विपत्तिमा परेका नागरिकको सहयोगका लागि सर्वसाधारणले आफ्नो क्षमताअनुसार राहत तथा आर्थिक सहयोग गरिरहेका बेला नक्कली प्रमाण देखाएर त्यही सहयोग रकम आफ्नो खातामा ल्याउन खोज्नु मानवीय संवेदनामाथिकै गम्भीर प्रहार भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार नक्कली स्टेटमेन्टमा १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको देखाइएको थियो। तर, कारोबारको विवरणमाथि शंका उत्पन्न भएपछि अनुसन्धान गर्दा उक्त विवरण नक्कली रहेको खुलेको हो।

कार्कीले ChatGPT को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनले सामाजिक सञ्जालमा नक्कली कागजात सार्वजनिक गरी सर्वसाधारणलाई विश्वासमा पार्न खोजेको बताइएको छ।

शोकमा डुबेको समाजको संवेदनामाथि खेलवाड

प्राकृतिक विपत्तिले ठूलो मानवीय क्षति पुर्‍याएको अवस्थामा राहतका नाममा ठगीको प्रयास हुनुले पीडित परिवार मात्र होइन, सहयोग गर्न चाहने सर्वसाधारणलाई समेत झस्काएको छ।

बेपत्ता आफन्तको खोजी, घाइतेको उपचार र विस्थापितको राहतका लागि देशभरबाट सहयोग जुटिरहेका बेला राहतको रकम हत्याउने उद्देश्यले नक्कली कागजात र डिजिटल माध्यमको दुरुपयोग गर्नु झनै गम्भीर अपराधका रूपमा हेरिएको छ।

यस घटनाले विपद्का बेला मानवीय सहयोगको नाममा सक्रिय हुन सक्ने ठगी गिरोह तथा व्यक्तिप्रति समेत सतर्क रहनुपर्ने आवश्यकता देखाएको छ।

राहतका नाममा रकम पठाउँदा सचेत रहन प्रहरीको आग्रह

प्रहरीले सामाजिक सञ्जालमा देखिएका राहतसम्बन्धी अपिल, बैंक स्टेटमेन्ट वा क्यूआर कोडका आधारमा मात्रै विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

राहत वा सहयोग रकम पठाउनुअघि सम्बन्धित सरकारी निकाय, संस्था वा आधिकारिक खाताको विवरण यकिन गर्न प्रहरीले अनुरोध गरेको छ। नक्कली कागजात र क्यूआर कोडमार्फत ठगी हुनसक्ने भएकाले विशेष सावधानी अपनाउनसमेत प्रहरीले आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन मस्कले मागे अनुमति, राहत तथा उद्धार कार्यमा प्रभावकारी हुनसक्छ स्टारलिङ्क

वीरगन्ज – विनाशकारी बाढीपहिरोका कारण सडक, पुलसँगै सञ्चार संरचनामा समेत

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन मस्कले मागे अनुमति, राहत तथा उद्धार कार्यमा प्रभावकारी हुनसक्छ स्टारलिङ्क

वीरगन्ज – विनाशकारी बाढीपहिरोका कारण सडक, पुलसँगै सञ्चार संरचनामा समेत

पोडकास्ट सुन्नुहोस