२०८३ भाद्र १५ गते, सोमबार १५:४७

पर्सा प्रहरीको सफल अप्रेसन: नारायणी अस्पतालबाट हराएका शिशु १६ घण्टामै फेला

वीरगन्ज-

नारायणी अस्पतालबाट चोरी भएको २४ घण्टा नबित्दै पर्सा प्रहरीले एकदिने नवजात शिशुको सकुशल उद्धार गरेको छ। शिशु चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ इनर्वा निवासी सबिना खातुनलाई पक्राउ गरेको छ।

​सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति शल्यक्रियामार्फत बालकलाई जन्म दिएकी थिइन्। आइतबार राति अस्पताल परिसरमै बालककी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै मागेकी खातुन शिशुसहित नियन्त्रणबाहिर भागेकी थिइन्।

​घटनाको सूचना लगत्तै पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईको नेतृत्वमा रातभर चलाइएको विशेष अप्रेसनका क्रममा १६ घण्टामै वीरगन्जको इनर्वाबाट शिशुसहित आरोपीलाई नियन्त्रणमा लिन सफलता मिलेको हो।

​पक्राउ परेकी खातुन र उद्धार गरिएको नवजात शिशुलाई हाल प्रहरी नियन्त्रणमा राखिएको छ। शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस