२०८३ भाद्र २३ गते, मंगलवार ११:५३

सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतहले सतर्कता तह पार: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ

देशका विभिन्न भागमा भइरहेको लगातारको वर्षाका कारण ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा जलसतह खतरा नजिक पुगेको हो।

महाशाखाको पछिल्लो मापनअनुसार नदीहरूको स्थिति:

  • सुनकोशी नदी (खुर्कोट, सिन्धुली): ७.५ मिटर सतर्कता तह रहेको सुनकोशीमा जलसतह ७.६२ मिटर पुगेको छ। हाल यहाँ पानीको बहाव स्थिर रहेको छ।
  • बुढीगण्डकी नदी (आरुघाट, गोरखा): ३.५ मिटर सतर्कता तह रहेको आरुघाट केन्द्रमा जलसतह ३.६ मिटर पुगेको छ। यद्यपि, यहाँ पानीको स्तर विस्तारै घट्दो क्रममा छ।
  • महाकाली नदी (पारीगाउँ, डडेलधुरा): ५.८ मिटर सतर्कता तह रहेको महाकालीमा जलसतह ६.३७ मिटर पुगेको छ। यहाँ पनि पानीको बहाव हाल स्थिर रहेको छ।

नदीहरूमा पानीको सतह बढेर चेतावनीको तह नाघेकाले बाढी पूर्वानुमान महाशाखाले ती नदीका तल्लो तटीय क्षेत्र तथा आसपासका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। बाढीको जोखिम कायमै रहने सम्भावना रहेकाले नदी किनारका क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन र पूर्वतयारीस्वरूप सुरक्षित स्थानको पहिचान गरिराख्नसमेत स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस