२०८३ भाद्र १७ गते, बुधबार १२:०८

सुरक्षाकर्मीलाई झुक्याउन तस्करको नयाँ जुक्ति , अस्पतालको भ्यानमा ६० किलो गाँजा

विराटनगर –

लागुऔषध तस्करीमा संलग्नहरूले सुरक्षाकर्मीलाई झुक्याउन विभिन्न नयाँ–नयाँ उपाय अपनाउने गरेको घटना फेरि सार्वजनिक भएको छ। यसपटक तस्करहरूले अस्पतालको भ्यानलाई नै गाँजा ओसारपसारको माध्यम बनाएको पाइएको छ।

विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको नाम लेखिएको भ्यानमा लुकाएर राखिएको ६० किलो गाँजा बरामद गरेको छ। सुरक्षाकर्मीले शंकारलागि भ्यान रोकेर जाँच गर्न खोजेपछि चालक गाडी छाडेर फरार भएका छन्।

विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल, बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार राति करिब ११ बजे सुरक्षाकर्मीले उक्त भ्यानलाई रोकेर चेकजाँच गर्न खोजेका थिए। सुरक्षाकर्मीले जाँचका लागि संकेत गरेपछि चालक भने भ्यान त्यहीँ छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए।

चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यानको खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको थियो।

अस्पतालको नाम र पहिचान झल्किने विवरण प्रयोग गरिएको भ्यानबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि लागुऔषध तस्करहरूले सुरक्षाकर्मीको निगरानी छल्न अपनाउने उपायबारे थप प्रश्न उठेको छ। सार्वजनिक तथा सेवामूलक संस्थाको पहिचान प्रयोग गरेर शंकाबाट बच्ने प्रयास गरिएको हुनसक्ने सुरक्षा निकायको प्रारम्भिक आशंका छ।

बरामद गरिएको गाँजा र भ्यान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको छ भने भ्यान कसको नाममा रहेको हो र गाँजा कहाँबाट कहाँ लैजान लागिएको थियो भन्नेबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस