वीरगन्ज–
गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक एवं ज्येष्ठ पत्रकार वसन्तप्रकाश उपाध्यायको ५५ वर्षको उमेरमा वीरगन्जमा निधन भएको छ।
तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका उपाध्याय बुधबार दिउँसो वीरगन्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा अचेत अवस्थामा फेला परेका थिए। स्थानीयले अचेत अवस्थामा देखेर प्रहरीलाई खबर गरेलगत्तै वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्याएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (DSP) चक्रबहादुर मल्लले जानकारी दिए।
यसअघि भदौ १४ गते आइतबार राति सिमरा प्रहरीले उनलाई सडकमा अचेत अवस्थामा फेला पारेर कलैया अस्पतालमा भर्ना गराएको थियो। कलैया अस्पतालले रिफर गरेपछि १६ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। तर, भदौ १७ गते उनी अस्पतालबाट आफैँ निस्किएर गहवामाई (माईस्थान) मन्दिर परिसर पुगेको बिर्ता प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीले गोप्यखबरलाई जानकारी दिएका छन्।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख सुवेदीका अनुसार सिमरा प्रहरी र बिर्ता प्रहरीले विगत केही दिनदेखि नै उनका परिवारका सदस्यहरूसँग सम्पर्क गर्ने निरन्तर प्रयास गरिरहे पनि हालसम्म सम्पर्क हुन सकेको छैन।
यसैबीच, नारायणी अस्पतालको शवगृहमा रहेको ‘फ्रिज’ बिग्रिएका कारण उपाध्यायको शवलाई सुरक्षित राख्न वीरगन्जस्थित बयोधा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुनुका साथै आफन्तको खोजी कार्य जारी राखिएको छ।











