वीरगन्ज –
गृह मन्त्रालयले बारा र रौतहटसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित २३ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। मन्त्रालयको १८ भदौको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयमा कार्यरत उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
बारा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई सरुवा गरिएको छ। यसअघि बाराको प्रमुख जिल्ला अधिकारी रहेका धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रजिअको जिम्मेवारी दिइएको छ।
त्यस्तै, रौतहटको प्रमुख जिल्ला अधिकारीमा पर्वतका प्रजिअ लक्ष्मीप्रसाद पौडेललाई पठाइएको छ। रौतहटका यसअघिका प्रजिअ दिनेश सागर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
मधेश प्रदेशका बारा र रौतहट सुरक्षा, सीमा व्यवस्थापन, राजस्व प्रशासन तथा संवेदनशील सामाजिक–राजनीतिक अवस्थाका दृष्टिले महत्वपूर्ण जिल्ला मानिन्छन्। दुवै जिल्लामा शान्ति–सुरक्षा कायम गर्ने, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने तथा स्थानीय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारी नयाँ प्रजिअको काँधमा आएको छ।
मन्त्रालयले झापाका सहसचिव श्रवणकुमार पोखरेललाई सल्यानको प्रजिअ तथा सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रजिअको जिम्मेवारी दिएको छ।
यस्तै, गोरखाका प्रजिअ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय, खोटाङकी प्रजिअ रेखा कँडेललाई दोलखा तथा दोलखाका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
रोल्पाका प्रजिअ गंगाबहादुर क्षेत्रीलाई पर्वतको जिम्मेवारी दिइएको छ भने अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत वेदराज फुयाँललाई डडेलधुराको प्रजिअ बनाइएको छ। डडेलधुराका प्रजिअ अमरबहादुर वलीलाई बाँकेको सहायक प्रजिअमा सरुवा गरिएको छ।
गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रजिअ, बाँकेका सहायक प्रजिअ महेशकुमार गुरुङलाई खोटाङको प्रजिअ, उपसचिव बन्दना केसीलाई सल्यानको प्रजिअ तथा गणेश गैरैलाई म्याग्दीको प्रजिअको जिम्मेवारी दिइएको छ।
त्यस्तै, बागलुङका सहायक प्रजिअ नवराज बराललाई जाजरकोटको प्रजिअका रूपमा पठाइएको छ। अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालयमा ल्याइएको छ।
गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभाग, काठमाडौंमा सरुवा गरिएको छ।
गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रजिअसहित सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेसँगै विशेषगरी बारा र रौतहटमा नयाँ प्रशासनिक नेतृत्वको आगमन भएको छ। अब नयाँ प्रजिअसामु जिल्लाको शान्ति–सुरक्षा, सीमा व्यवस्थापन, अपराध तथा तस्करी नियन्त्रण र प्रभावकारी प्रशासन सञ्चालन मुख्य चुनौतीका रूपमा रहनेछन्।












