काठमाडौं –
भोटेकोशी नदीमा आएको बाढीले बगाएर बेपत्ता भएकी नुवाकोट बेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठको ११ औं दिनमा जीवितै उद्धार गरिएको छ। परिवारले जीवितै फेला पर्ने आस मारेर काठमाडौंमा कुशको शव बनाई काजकिरिया थालिसकेको अवस्थामा उनको जीवितै उद्धार भएको हो।
गत १० भदौमा आएको विनाशकारी बाढीले गाउँ नै बगाउँदा चण्डिकाका श्रीमान् आनन्दलालसहित ५ जना सदस्य सम्पर्कविहीन भएका थिए। लामो समयसम्म फेला नपरेपछि परिवारले मृत्यु संस्कार सुरु गरिसकेको थियो।
तर, शनिबार बेत्रावतीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले घरको भग्नावशेषभित्रबाट कसैको आवाज सुनेपछि लेदो पन्छाएर र झ्याल फोडेर भित्र प्रवेश गरेको थियो। सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा गएको टोलीले चण्डिकालाई जीवितै उद्धार गर्न सफल भयो।
उद्धारलगत्तै नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको छ। हाल उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।
चण्डिका जीवितै भेटिएको खबर पाएपछि परिवारले अन्तिम संस्कारको काम रोकेर अस्पताल पुगेका छन्। उनका श्रीमान्सहित अन्य ५ जना अझै बेपत्ता रहेकाले परिवारले सुरक्षा संयन्त्रसँग बाँकी सदस्यहरूको पनि गम्भीरतापूर्वक खोजी गरिदिन आग्रह गरेका छन्।












