२०८३ भाद्र २१ गते, आईतवार १२:२२

फेला परेको सुनचाँदी र नगद प्रहरीलाई बुझाएर सभ्य नागरिकको परिचय दिन प्रहरीको अपिल

वीरगन्ज

विपत्तिका बेला अरूको सम्पत्तिमा आँखा नलगाउन नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि फेला परेका सुनचाँदी, नगद, धनमाल तथा महत्त्वपूर्ण कागजात आफूसँग नराखी नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रहरीले अपिल गरेको हो।

बाढीपछि हराएका सामान फेला पर्दा आफ्नो सम्पत्तिजस्तो ठानेर राख्ने वा बिक्री गर्ने कार्य नगर्न प्रहरीले सचेत गराएको छ। विपत्तिको समयमा फेला परेको अरूको धनमाल आफूसँग राख्नु वा बिक्री–वितरण गर्नु आपराधिक मात्र नभई अमानवीय कार्यसमेत हुने प्रहरीको भनाइ छ।

नेपाल प्रहरीले भनेको छ, “भोटेकोशी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्त्वपूर्ण कागजात फेला परेमा आफूसँग राख्ने, बिक्री–वितरण गर्नेजस्ता आपराधिक एवं अमानवीय कार्य नगर्नुहोस्।”

प्रहरीले फेला परेको धनमाल वा कागजात नजिकको प्रहरी कार्यालयमा बुझाएर पीडितलाई उसको सम्पत्ति फिर्ता पाउने वातावरण बनाउन सहयोग गर्न नागरिकसँग आग्रह गरेको छ। विपत्तिको घडीमा मानवीयता र इमानदारी प्रदर्शन गर्नु नै सभ्य नागरिकको परिचय भएको प्रहरीको सन्देश छ।

यही भदौ १० गते आएको हिमबाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण कतिपय मानिसको घर, व्यवसाय, नगद, सुनचाँदी, कागजात तथा अन्य बहुमूल्य सामान बगाएको वा हराएको अवस्थामा त्यस्ता सामान फेला पर्ने क्रमसमेत जारी छ।

प्रहरीले विपत्तिबाट पीडित नागरिकको हराएको सम्पत्ति फेला पार्ने र सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ। बाढीले अरूको धनमाल ल्याइदिएको हुन सक्छ, तर त्यसलाई आफ्नो बनाउने होइन—प्रहरीलाई बुझाएर असल र सभ्य नागरिकको परिचय दिने बेला हो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस