२०८३ भाद्र २१ गते, आईतवार १२:२२

क्यासिनो पक्राउ अपडेट : अध्यक्ष यादव , इन्स्पेक्टर पौडेल र बैठा सहित ८ जना पक्राउ

वीरगन्ज

कानुनको पालना गराउनुपर्ने जनप्रतिनिधि र स्वयं सुरक्षा निकायका अधिकारी नै गैरकानुनी कार्यमा संलग्‍न रहेको सनसनीपूर्ण तथ्य सार्वजनिक भएको छ।

​वीरगन्जस्थित क्ल्यार्क रिसोर्ट गण्डकमा सञ्चालित ‘गोल्डेन फिंगर गेमिङ जोन’ (क्यासिनो) मा पर्सा प्रहरीले शनिबार राति छापा मार्दा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल, वीरगन्ज–११ स्थित निम्बसका कर्मचारी ओम प्रकाश बैठा र स्थानीय चन्दन सहनीलाई क्यासिनोभित्र अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ।

​नेपाली नागरिकहरूलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण प्रतिबन्ध रहेको कानुनी व्यवस्थालाई धज्जी उडाउँदै उनीहरू जुवाको दाउमा बसिरहेका थिए। विशेष सूचनाका आधारमा पर्सा प्रहरीको टोलीले राति करिब १०:३० बजे गरेको अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

​यसैगरी, नेपाली नागरिकहरूलाई प्रतिबन्धित क्षेत्रभित्र अवैध रूपमा छिराउन र जुवा खेलाउन सघाउने क्यासिनोका चार जना कर्मचारीहरू—विजय कुमार पटेल, दिनेश कुमार पटेल, प्रदेशी साह र जयदेव साहलाई पनि घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ।

​जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका सबै आठै जनालाई प्रहरी हिरासतमा राखी कानुन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस