२०८३ भाद्र २१ गते, आईतवार २०:१९

जलवायु परिवर्तनको मुद्दा उठाउन राष्ट्रसङ्घ जाने बालेनको तयारी, असोज ८ मा न्यूयोर्कबाट सम्बोधन

काठमाडौं

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने निश्चित भएको छ। प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी तीव्र पारेका छन्।

भ्रमणको औपचारिक घोषणा हुन बाँकी रहे पनि परराष्ट्र मन्त्रालयका अनुसार यसपटक विगतका तुलनामा निकै सानो (१० देखि ११ जनाको) टोली लिएर प्रधानमन्त्री अमेरिका जानेछन्। टोलीमा प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू सुभाष शर्मा र प्रदीप पजियार, फोटोग्राफर विनय शाक्य र शिष्टाचार प्रमुख रहने जनाइएको छ।

त्यस्तै, परराष्ट्रमन्त्री खनालको नेतृत्वमा जाने ५ सदस्यीय टोलीबारे मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरिसकेको छ। उक्त टोलीमा परराष्ट्र सचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल रहनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ। सम्बोधनको एक-दुई दिनअघि पुग्ने र सम्बोधनलगत्तै फर्कने गरी भ्रमण तालिका बनाइँदै छ।

यसअघि भदौ १० गते रसुवाको भोटेकोशीमा आएको हिमबाढीपछि प्रधानमन्त्री शाह आफैं महासभामा जाने निर्णयमा पुगेका हुन्। जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपद् र यसका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीस्तरबाटै सम्बोधन हुनु प्रभावकारी हुने सल्लाहपछि उनले यो भ्रमणको अग्रसरता लिएका हुन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस