चितवन –
नारायणगढ–मुग्लिन सडक खण्ड भोलि सोमबार बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ। तुइन खोला क्षेत्रमा समय-समयमा खसिरहने पहिरो रोकथाम तथा माथिल्लो भागको जोखिमयुक्त माटो पन्छाउने काम गर्न स्थानीय प्रशासनले सवारीसाधन आवागमनमा रोक लगाउने कार्यतालिका सार्वजनिक गरेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालद्वारा आइतबार जारी सूचना अनुसार धादिङको कृष्णभीरमा सडक मर्मत जारी रहेको समयको सदुपयोग गर्दै तुइन खोला परियोजनाको माटो कटान तथा पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो। कृष्णभीरको मर्मत कार्य सम्पन्न नहुञ्जेलसम्म यो प्रक्रिया जारी रहनेछ।
सडक खुला र बन्द हुने समय तालिका निम्न अनुसार तय गरिएको छ:
- खुला रहने समय:
- बिहान ८:०० देखि ८:३० बजेसम्म
- बिहान १०:३० देखि ११:०० बजेसम्म
- दिउँसो १:०० देखि १:३० बजेसम्म
- दिउँसो ३:३० देखि अपराह्न ४:०० बजेसम्म
- साँझ ६:०० बजेपछि (निरन्तर)
उक्त तोकिएको समयबाहेक अन्य समयमा भने सवारीसाधन रोकेरै पहिरो पन्छाउने तथा मर्मत कार्य गरिने प्रशासनले जनाएको छ।












