२०८३ भाद्र २२ गते, सोमबार १३:२०

रसुवा भोटेकोशी बाढीको १३ औँ दिन: आज देशभर राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

काठमाडौँ

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूतर्फ सम्मान व्यक्त गर्दै आज देशभर राष्ट्रिय शोक मनाइँदैछ। घटनाको १३ औँ दिनमा सरकारले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

राष्ट्रिय शोकका अवसरमा आज देशभरका सबै सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यद्यपि, आज सार्वजनिक बिदा भने नदिइएको सरकारले स्पष्ट पारेको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण अझै ४ हजार ९९६ जना नागरिक सम्पर्कविहीन रहेका छन्। आजको दिनलाई मृतकहरूप्रति सम्मान व्यक्त गर्दै बेपत्ताको खोजी तीव्र पार्ने, विस्थापितहरूलाई घर फर्काउने तथा पुनर्स्थापना र पुनर्निर्माणलाई अघि बढाउने राष्ट्रिय सङ्कल्पका रूपमा लिइएको छ।

हाल रसुवा, नुवाकोट र धादिङमा सञ्चालित होल्डिङ सेन्टरहरूमा ३ हजारभन्दा बढी विस्थापित नागरिकहरू आश्रय लिइरहेका छन्। प्रभावित क्षेत्रमा घाइतेहरूको उपचार, राहत वितरण, र पुनर्निर्माणको कामलाई तीव्रता दिइएको सरकारले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस