काठमाडौँ –
इजिप्टको एक अदालतले चर्चित टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै मृत्युदण्ड (फाँसी) को फैसला सुनाएको छ।
सरकारी समाचारपत्र अल-अहरामका अनुसार ३९ वर्षीया खलिफासहितको टोली लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी बिक्री गर्ने र आपराधिक गिरोह सञ्चालन गर्ने कार्यमा संलग्न रहेको ठहर अदालतले गरेको हो। गिरोहसँग अवैध हतियार तथा गोलीगठ्ठासमेत बरामद भएको थियो।
अपराधसम्बन्धी कार्यक्रम ‘मिसन इम्पोसिबल’ मार्फत चर्चित बनेकी खलिफाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन्। उनले लागुऔषध नियन्त्रण निकायको कार्यालयमा तस्बिर खिचाउने क्रममा मात्रै पहिलोपटक उक्त लागुऔषध देखेको दाबी गरेकी छन्। उनका वकिलले अदालतको यो फैसलाविरुद्ध पुनरावेदन (अपिल) गर्ने जनाएका छन्।
यस मुद्दामा अदालतले अन्य ९ जना प्रतिवादीलाई आजीवन कारावासको सजाय सुनाएको छ भने ७ जनालाई सफाइ दिएको छ। अधिकारीहरूले अनुसन्धानका क्रममा ७५० किलोग्रामभन्दा बढी लागुऔषध, कच्चा पदार्थ र विभिन्न विद्युतीय प्रमाणहरू अदालतसमक्ष पेस गरेका थिए।
इजिप्टको कानुनी व्यवस्था अनुसार मृत्युदण्डको फैसला कार्यान्वयनअघि देशका ग्रान्ड मुफ्तीबाट धार्मिक राय लिनुपर्ने भएकाले अदालतले उक्त प्रक्रिया पूरा गरी फैसलाको औपचारिक पुष्टि गरेको हो।











