काठमाडौँ–
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसद्मा दुई तिहाइ बहुमत हुनुको कुनै अर्थ नरहने बताएकी छन्। जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सो कुरा बताएकी हुन्।
एक वर्षअघि आजकै दिन भएको जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै उनले भनिन्, “राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ। त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सक्नुपर्छ।”
सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित नवयुवाहरूले सडक र डिजिटल माध्यमबाट आवाज उठाउँदा दबाउने नाममा निर्दोष युवाहरूको ज्यान लिइएको र कयौँ युवा जीवनभर अपांगताको पीडा बेहोर्ने गरी घाइते हुनुपरेको स्मरण गर्दै उनले दुःख व्यक्त गरेकी छन्। उक्त घटनामा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरेकी छन्।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति र राष्ट्रिय धरोहरमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, “राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ। अब त्यस्तो दिन कदापि दोहोरिनु हुँदैन। जनता पुन: सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले इमानदार र जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्छ।”
यसैबीच, जेन–जी आन्दोलनको एक वर्ष नपुग्दै मुलुक अहिले भोटेकोसी बाढीको अर्को पीडादायी परिस्थितिबाट गुज्रिरहेको भन्दै पूर्वप्रधानमन्त्री कार्कीले यस कठिन घडीमा सबैलाई धैर्य, जिम्मेवारी र एकताका साथ ऐक्यबद्ध भएर विपद्को सामना गर्न आह्वान गरेकी छन्।












