वीगन्ज–
रोटरी क्लब अफ वीगन्जअन्तर्गत रहेको जयपुर महावीर रोटरी रिह्याबिलिटेसन सेन्टरको आयोजनामा नि:शुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ।गत शनिवार वीरगन्जमा रहेको लायन्स क्लबको भवनमा आयोजित उक्त कार्यक्रममा विभिन्न दुर्घटना तथा अन्य कारणले हात–खुट्टा गुमाएका नागरिकहरूलाई नि:शुल्क कृत्रिम अङ्ग उपलब्ध गराइएको हो।
विश्व हिन्दू परिषद् नेपाल, वीगन्ज महानगर अध्यक्ष ज्योति रुङ्गटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरूलगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
विपन्न तथा आवश्यकता भएका नागरिकलाई नि:शुल्क कृत्रिम हात र खुट्टा प्रदान गरी उनीहरूको जीवन सहज बनाउने उद्देश्यले विगत ५ वर्षदेखि यो सेवा निरन्तर सञ्चालन हुँदै आएको छ। सेन्टरले हालसम्म ११ हजारभन्दा बढी व्यक्तिलाई नि:शुल्क कृत्रिम हात तथा खुट्टा उपलब्ध गराइसकेको छ।
संस्थाका अनुसार प्रति कृत्रिम हात करिब १८ हजार रुपैयाँ र प्रति कृत्रिम खुट्टा करिब १६ हजार रुपैयाँ बराबरको पर्ने भए तापनि बिरामीहरूलाई पूर्ण रूपमा नि:शुल्क रूपमा वितरण गरिँदै आएको छ।












