२०८३ भाद्र २४ गते, बुधबार १५:५२

मधेसको सीमाबाट भारततर्फ लागुऔषध तस्करी बढ्दो, सिरहामा १५७ किलो गाँजा बरामद

सिरहा –

मधेस प्रदेशका सीमावर्ती क्षेत्रबाट भारततर्फ प्रतिबन्धित लागुऔषध तस्करी हुने क्रम बढिरहेका बेला सिरहामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले लागुऔषध ओसारपसार गर्न थालेपछि सीमाक्षेत्रमा सुरक्षा चुनौतीसमेत बढ्दै गएको देखिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले भारततर्फ लैजान लागिएको १५७ किलो गाँजा बरामद गरेको हो।

गस्ती टोलीले सिरहाको औरही गाउँपालिका–४ स्थित इट्टाटार सीमा क्षेत्रबाट बुधबार बिहान करिब १ः३५ बजे गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। नेपालबाट अवैध रूपमा टाउकोमा गाँजाको भारी बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूले गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए।

गस्ती टोलीले घटनास्थलबाट छाडिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको छ।

मधेसका सीमावर्ती जिल्लामा पटक–पटक ठूलो परिमाणमा गाँजा तथा अन्य प्रतिबन्धित लागुऔषध बरामद हुनुले नेपालबाट भारततर्फ लागुऔषध तस्करीका लागि खुला सीमाको प्रयोग भइरहेको संकेत गरेको छ। सुरक्षा निकायले तस्करी नियन्त्रणका लागि निगरानी बढाए पनि तस्करहरूले नयाँ–नयाँ बाटो र शैली प्रयोग गर्दै सीमापार अपराधलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस