२०८३ भाद्र २४ गते, बुधबार २०:३७

सञ्जय ठाकुरलाई ५ दिन थुनामा राखेर अभियोगपत्र दायर गर्न अदालतको आदेश

वीरगन्ज

ठगी तथा विश्वासघातको आरोपमा पक्राउ परेका नापी कार्यालयका पूर्वकर्मचारी सञ्जय कुमार ठाकुरको मुद्दामा पर्सा जिल्ला अदालतले तोकिएको अवधिभित्र अभियोगपत्र दायर गर्न पर्सा प्रहरीलाई आदेश दिएको छ। ठाकुरका छोराका अनुसार अदालतले अनुसन्धान प्रक्रिया पूरा गरी तोकिएको म्यादभित्रै अभियोगपत्र पेस गर्न प्रहरीलाई निर्देशन दिँदै ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

विशेष प्रहरी टोलीले मंगलबार काठमाडौँको शान्तिनगरबाट पक्राउ गरेका ठाकुरलाई बुधबार पर्सा ल्याई जिल्ला अदालतमा पेस गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार ठाकुरविरुद्ध गत असोज ४ गते ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा थप अनुसन्धान र कानुनी कारबाहीका लागि अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीका अनुसार ठाकुर लामो समयदेखि वीरगन्जका विभिन्न घरजग्गा तथा आर्थिक विवादमा जोडिँदै आएका थिए। नबिल बैंक, एनआईसी एसिया बैंक, पूजन होटल र स्काइलाइन मललगायतसँग सम्बन्धित जग्गा विवादमा समेत उनको नाम जोडिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस