२०८३ भाद्र २५ गते, बिहीबार १४:१४

पर्साको ग्रामीण भेगबाट १८ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

वीरगन्ज-

पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट आज बिहान १८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले एक जना ७० वर्षीय वृद्धलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले गाउँपालिकाको वडा नम्बर ४ भथौरास्थित दुखि महतोको घरबाट गाँजा बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको हो।

सिमावर्ती जिल्लाबाट भित्र्याइएको गाँजा घरमा भण्डारण गरी राखेको सूचनाका आधारमा प्रहरीले कारबाही गर्दा लुकाइछिपाइ राखिएको दुई पोका गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो।

उहाँका अनुसार पक्राउ परेका महतो र बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार मकवानपुर, चितवन, धादिङलगायतका जिल्लामा उत्पादन भएको गाँजा विभिन्न माध्यमबाट पर्साको ग्रामीण भेगमा भित्र्याउने र रातिको समयमा खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गर्ने गरेको अनुसन्धानबाट देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस