राजविराज –
प्रसव पीडाले छट्पटाइरहेकी एक विपन्न महिलालाई अस्पतालले समयमै उपचार र भर्ना नलिएको आरोप लागेको छ। स्वास्थ्यकर्मीले भर्ना लिन अस्वीकार गरेपछि ती महिलाले सरकारी अस्पतालकै गेटअगाडि फुटपाथमा शिशुलाई जन्म दिनुपरेको घटनाले स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बुधबार बिहान भएको घटनामा राजविराज नगरपालिका–१४ पर्साहीकी वविता पासवानले अस्पताल परिसरबाहिरै छोरालाई जन्म दिएकी हुन्। अस्पतालले समयमै प्रसूति सेवा उपलब्ध नगराउँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा परेको पीडित परिवारको आरोप छ।
वविताका अनुसार मंगलबार राति करिब डेढ बजे प्रसव व्यथा लागेपछि श्रीमान् हरेराम पासवान र दुई जना आफन्त महिलासहित उनी सिटी रिक्सामा अस्पताल पुगेकी थिइन्। अस्पतालको प्रसूति विभागमा पुगेपछि खटिएकी स्टाफ नर्सले अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गर्नुपर्ने बताउँदै त्यसका लागि करिब २ हजार ५०० रुपैयाँ लाग्ने जानकारी दिएको वविताको दाबी छ।
तर, आफू विपन्न भएकाले तत्काल पैसा तिर्न नसक्ने बताएपछि स्वास्थ्यकर्मीले परीक्षणबिना प्रसूति गराउन नमिल्ने भन्दै बाहिर जान भनेको वविताले बताएकी छन्।
‘मसँग पैसा थिएन। बिहान भएपछि अल्ट्रासाउन्ड र आवश्यक जाँच गराउँछु, अहिले भर्ना गरिदिनुस् भनेर आग्रह गरेँ,’ वविताले भनेकी छन्, ‘तर जाँचविना भर्ना नलिने भन्दै हप्काएर निकालिदिनुभयो।’
अस्पतालमा उपचार नपाएपछि वविता परिवारसहित बाहिर निस्किइन्। उनी अस्पताल नजिकैको एउटा औषधि पसलअगाडि पुगिन्। त्यहाँ उनले औषधि पसलेलाई चिकित्सक बोलाएर जाँच गराइदिन आग्रह गरेकी थिइन्। औषधि पसलेले बिहान चिकित्सक आएपछि जाँच गराइदिने भन्दै त्यहीँ बस्न भनेको वविताको भनाइ छ।
तर, केही समयमै उनको प्रसव पीडा झनै बढ्यो। अस्पतालभित्र उपचारको प्रतीक्षामा हुनुपर्ने महिला सडक पेटीमै छट्पटाउन थालिन्। आफन्त महिलाहरूले उनलाई सम्हालिरहे। श्रीमान् असहाय भएर हेरिरहे। अन्ततः अस्पतालको गेटअगाडि नै वविताले छोरालाई जन्म दिइन्।
शिशु जन्मिएपछि परिवारले सालनालसहित नवजातलाई लिएर पुनः अस्पताल पुगेको वविताको दाबी छ। तर त्यतिबेला पनि आफूलाई स्वास्थ्यकर्मीले भर्ना नगरेको उनले बताएकी छन्।
‘खाली बेडमा सुत, जे हुन्छ हुन्छ भनेर आफन्तले भन्नुभयो। म सुत्न खोजेँ। तर ती स्वास्थ्यकर्मी दिदीले यहाँबाट भाग, नभए धक्का दिएर निकालिदिन्छु भनेर धम्क्याउनुभयो,’ वविताले भनेकी छन्।
घटनाको भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा वविता अस्पतालबाहिर फुटपाथमा प्रसव पीडाले छट्पटाइरहेको र उनका आफन्तले स्याहार गरिरहेको देखिन्छ। केहीबेरपछि उनले त्यहीँ शिशुलाई जन्म दिएको दृश्यसमेत भिडियोमा देखिन्छ।
तर अस्पताल प्रशासनले भने घटनाबारे फरक दाबी गरेको छ। अस्पतालका फ्रि हेल्थ सर्भिसका फोकल पर्सन मनोज देवले वविता राति करिब २ बजे अस्पताल आएपछि २४ नम्बर बेडमा भर्ना गरिएको दाबी गरेका छन्।
उनका अनुसार प्रारम्भिक परीक्षणपछि गर्भावस्थामा गर्नुपर्ने आवश्यक स्वास्थ्य जाँच नगराएको पाइएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले उनलाई प्रयोगशाला परीक्षणका लागि पठाएका थिए। तर, उनीहरू प्रयोगशालाबाटै बाहिरिएको र बिहान करिब ५ बजे शिशु जन्मिएपछि मात्र अस्पतालमा आएको देवको दाबी छ। अस्पताल आएपछि सालनाल काटेर पठाइएको उनले बताएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले पनि आफूले भिडियो सार्वजनिक भएपछि मात्रै घटनाबारे जानकारी पाएको बताएका छन्। उनका अनुसार महिला बच्चा जन्माइसकेपछि बिहान करिब ४ बजे अस्पताल पुगेको जानकारी आफूले पाएको बताए।
मेसु झाले आफू हाल काठमाडौंमा रहेको भन्दै घटनाबारे छानबिन गर्न समिति गठन गर्ने बताएका छन्।
यस घटनाले गरिबीका कारण उपचारबाट वञ्चित हुनुपर्ने हो कि राज्यको स्वास्थ्य सेवा पाउने अधिकारबाट विपन्न नागरिक पनि समान रूपमा लाभान्वित हुन पाउने हो? भन्ने प्रश्नसमेत उठाएको छ।
सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि निश्चित प्रतिशत बेड छुट्याउने कानुनी व्यवस्था भए पनि संघीय सरकारअन्तर्गतकै अस्पतालको गेटअगाडि एक विपन्न महिलाले प्रसव गराउनुपर्ने अवस्था आउनु स्वास्थ्य सेवा प्रणालीकै गम्भीर विडम्बना भएको भन्दै आलोचना भइरहेको छ।
आमा प्रसव पीडामा छट्पटाइरहँदा अस्पतालको ढोका बन्द हुने र नवजात शिशुले अस्पतालको प्रसूति कक्षको सट्टा फुटपाथमा जन्म लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्नको निष्पक्ष छानबिन अब अपरिहार्य देखिएको छ।












