काठमाडौं –
बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीका कारण गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको र अन्य चारवटा सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको जनाएको छ ।
गोरखाको आरूघाट गाउँपालिकास्थित नयाँपुल सोतीमा रहेको फलामे पुल बाढीका कारण अवरुद्ध हुँदा गोरखा आरूघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा ठप्प बनेको छ । असोज २५ गते बिहानदेखि अवरुद्ध उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
यसैगरी, धादिङको धुनिबेशीस्थित खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
गण्डकी प्रदेशका अन्य हिमाली तथा पहाडी जिल्लाका सडकहरूमा पनि बाढी–पहिरोले असर पारेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण एकतर्फी खुलेको छ ।
नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरको जन्ती पहिरोमा खसेको पहिरोले गर्दा सडक एकतर्फी मात्र सुचारु छ, जहाँबाट ठूला सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । त्यस्तै, मनाङ जोड्ने बेसीसहर–खाङ्सार सडक खण्ड पनि बाढीका कारण हाल एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।
अवरुद्ध तथा आंशिक सञ्चालनमा रहेका सडकहरू पूर्ण रूपमा सुचारु गराउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।












