वीरगन्ज-
भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै उक्त दुर्घटना भएको हो। डुंगामा २० जनाभन्दा बढी सवार रहेको र मृतकमध्ये अधिकांश बालबालिका रहेको समाचारमा उल्लेख छ।
डुंगामा सवार व्यक्तिहरू भोजमा सहभागी हुन जाने क्रममा नदीमा डुंगा पल्टिएको बताइएको छ। दुर्घटनाको सूचना पाएलगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान सञ्चालन गरेका थिए।
दुर्घटना कसरी भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। डुंगामा क्षमताभन्दा बढी यात्रु सवार थिए वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्ने पनि खुल्न बाँकी छ।
मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ राहत
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्।
उनले उद्धार कार्यलाई तीव्र बनाउन तथा घाइतेहरूको उचित उपचारको व्यवस्था मिलाउन सम्बन्धित प्रशासनलाई निर्देशन दिएको बताएका छन्।
बिहारका पूर्वउपमुख्यमन्त्री तथा राघोपुरका विधायक तेजस्वी यादवले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले स्थानीय बासिन्दा, प्रशासन र सम्बन्धित अधिकारीसँग कुराकानी गर्दै उद्धार तथा उपचार कार्यलाई तीव्रता दिन आग्रह गरेको बताएका छन्।
त्यस्तै, केन्द्रीय मन्त्री चिराग पासवानले दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले राघोपुर दियारा क्षेत्रमा भएको दुर्घटनाका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित अधिकारीलाई आग्रह गरेका छन्।











