२०८३ आश्विन २८ गते, बुधबार २२:३१

सल्यानमा सांसद पन्तले फरक शैलीमा गरे “हामी आउँदैछौँ” अभियानको समापन

सल्यान–

राष्ट्रिय स्वतन्त्र पार्टीले असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको “हामी आउँदैछौँ” अभियानमा सल्यान पुगेका रास्वपा सांसद बुद्धि पन्त (हरि) ले २७ गते उक्त अभियानको फरक शैलीमा समापन गरेका छन्।

रास्वपाको “हामी आउँदैछौँ” अभियानअन्तर्गत सल्यानको कालिमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी लगायतका पालिकाहरूमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले सल्यानबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद नहुँदा जिल्लामा आइपर्ने सामान्य समस्याहरूको पनि समाधान नहुने गरेको र स्थानीय निकायहरूमा भ्रष्टाचार र अनियमितता बढेको, अवैध क्रसर लगायतका कतिपय सन्दर्भमा प्रहरी, प्रशासनको भूमिका समेत सन्तोषजनक नभएको भनेर गुनासो गरेपछि सांसद पन्तले प्रमुख जिल्ला अधिकारीलाई त्यस्ता गुनासो देखिएका सम्बन्धित निकायहरूका जिल्ला प्रमुखहरूसँग बैठक राख्न आग्रह गरेका थिए।

त्यसपछि जिल्ला प्रशासन कार्यालय सल्यानको बैठक कक्षमा प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीको अध्यक्षतामा बसेको बैठकमा देखिएका समस्या र उठेका प्रश्नहरूको विषयमा सम्बन्धित कार्यालयका प्रमुखहरूले उत्तर दिँदै जिल्ला तहबाट गर्न सकिने विषयहरू तत्काल गरिने र गर्न नसकिने विषयहरू सम्बन्धित मन्त्रालयहरूमा सिफारिस गरिने प्रतिबद्धता समेत जनाएका थिए।

बैठकमा प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसी, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र बुढा, सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातली, विद्युत् प्राधिकरणका प्रमुख नरेशदत्त रावल, भौतिक पूर्वाधार विकासका निमित्त प्रमुख सिद्धार्थ मिश्र लगायतका जिल्ला प्रमुखहरूको उपस्थिति थियो।

अभियानको क्रममा सांसद पन्तले रास्वपाले स्थानीय चुनाव लक्षित गरी सञ्चालन गरेको राष्ट्रव्यापी अभियान “हामी आउँदैछौँ” अन्तर्गत सञ्चालित कार्यक्रममा त्यहाँका स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई ‘क्यान्डिडेट क्लब’ मा आवद्ध हुने चरणदेखि उम्मेदवार छनोटका विभिन्न प्रक्रियाहरूको विषयमा प्रशिक्षण दिँदै त्यहाँका स्थानीयहरूका विभिन्न जिज्ञासाहरूको सम्बोधन समेत गरेका थिए। पन्तले स्थानीय चुनावमा पार्टीको विधि-विधानभन्दा बाहिर गएर कसैले टिकट नपाउने हुनाले सबैलाई ढुक्क भएर सङ्गठन निर्माण र पार्टी तथा सरकारले गरेका राम्रा कामहरू लिएर जनतामाझ जान निर्देशन दिएका थिए। अभियानमा सल्यान जिल्ला सभापति प्रकाश नेपाली, नेताहरू रामबहादुर केसी, खड्ग बुढा, लालबहादुर विक लगायतको सहभागिता थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस