२०८३ आश्विन २९ गते, बिहीबार १५:३७

सशस्त्र प्रहरीको नक्कली अधिकारी बनी ठगी गर्ने एक बिचौलिया वीरगन्जबाट पक्राउ

वीरगन्ज —

वीरगन्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारी साधनहरू तथा घरायासी प्रयोजनका सर-सामानहरू कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाई ठगी धन्दा चलाउँदै आएका एक बिचौलियालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौँमा डेरा गरी बस्ने २७ वर्षीय प्रविण साह रहेका छन्। साहले आफूलाई सशस्त्र प्रहरीको सहायक निरीक्षक (असिस्टेन्ट सब-इन्स्पेक्टर) रहेको र भन्सार कार्यालयका एजेन्टहरूसँग राम्रो चिनजान छ भन्दै सर्वसाधारणलाई झुक्क्याउने गरेका थिए। उनले लिलाम बिक्रीको सामान मिलाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिहरूलाई आफ्ना बैंक खाताहरूमा रकम जम्मा गर्न लगाउने र रकम प्राप्त भएपछि सम्पर्कविहीन भई ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले गत असोज २२ गते वीरगन्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर क्षेत्रबाट साहलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीमाथि कानुन बमोजिम अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले यस्ता बिचौलिया धन्दामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गर्न विशेष निगरानी र प्रमाण सङ्कलन भइरहेको जानकारी दिएका छन्। प्रहरीले कुनै पनि बिचौलियाको प्रलोभन वा विश्वासमा नपर्न, रकम लेनदेन नगर्न र यस्ता शंकास्पद व्यक्ति वा गतिविधिका बारेमा जानकारी पाएमा तुरुन्त नजिकैको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणमा अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस