काठमाडौँ —
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्कै व्यक्तिको नामबाट नक्कली उजुरी दर्ता गराउने एक जनालाई प्रहरीले पक्राउ गरी जरिवाना गराएर छाडेको छ। पक्राउ पर्नेमा रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका वडा नं. ५ बस्ने दीपक पुन मगर रहेका छन्।
मगरले ‘एबी राई’ (आङबाबु राई) को नाम प्रयोग गरी अख्तियारमा झुटा उजुरी दर्ता गराएका थिए। उजुरीमा आफूलाई नेपाल प्रहरीको डीआईजी बताउने एक व्यक्तिले एबी राई अध्यक्ष रहेको सहकारीबाट ऋण लिएको र भुक्तानी माग गर्दा उजुरी मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको दाबी गरिएको थियो। सोही क्रममा १५ लाख रुपैयाँ नगद र आफ्नी कान्छी श्रीमतीका नाममा थप चेक लिएको तथा रकम माग्दै धम्की दिइरहेको व्यहोरा उजुरीमा उल्लेख थियो।
उक्त उजुरीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेपछि वास्तविक एबी राईले आफूले त्यस्तो कुनै उजुरी नदिएको स्पष्ट बयान दिएका थिए। त्यसपछि प्रहरीको सहयोगमा मगरलाई पक्राउ गरी गत असार १७ गते आयोगमा ल्याएर बयान लिइएको थियो। बयानका क्रममा मगरले उजुरीकर्ता नै नभएको व्यक्तिको नाम, जानकारी र स्वीकृतिविना नै नक्कली उजुरी दर्ता गराएको स्वीकार गरेका थिए।
बयानका क्रममा दुवै जनाले ४० लाख रुपैयाँ माग गरिएको भनिएको घटना नै नभएको स्पष्ट पारेपछि अख्तियारले कारबाही प्रक्रिया अघि बढाएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार झुटा उजुरी दिने मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४९ लगायतका प्रचलित कानुनी व्यवस्था अनुसार दुई हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको छ।











