वीरगन्ज–
नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। पर्सा जिल्लाबाट केन्द्रीय पदाधिकारीको तहमा पुग्ने नेताका रूपमा चौरसियाले नयाँ इतिहास रचेका छन्।
पर्साबाट यसअघि पार्टीको केन्द्रीय सदस्यभन्दा माथिल्लो पदमा कुनै नेता पुग्न नसकेको अवस्थालाई तोड्दै चौरसिया मधेसी क्लस्टरबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित हुन सफल भएका हुन्।
राष्ट्रिय राजनीतिमा मधेस प्रदेशको प्रमुख राजनीतिक केन्द्रका रूपमा जनकपुरको प्रभाव रहँदै आएको र नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा पनि जनकपुर क्षेत्रको प्रतिनिधित्व हुँदै आएको अवस्थामा चौरसियाको विजयले स्थापित राजनीतिक भाष्यलाई चुनौती दिएको छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता महेन्द्र यादवलाई पराजित गर्दै चौरसिया सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। उनको विजयले पर्सा जिल्लाको कांग्रेस राजनीतिमा नयाँ उत्साह थपेको छ।
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पर्साबाट चार जना निर्वाचित भएका छन्। नेपाली कांग्रेस पर्साका जिल्ला सभापति एवं मधेस प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्री, पूर्वकेन्द्रीय सदस्य अनिल रुङ्गटा, असर्फी साह र जमिला खातुन केन्द्रीय सदस्यमा निर्वाचित भएको पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए।
उनका अनुसार क्षेत्री खस–आर्य क्लस्टरबाट, रुङ्गटा र साह मधेसी क्लस्टरबाट तथा खातुन महिला मुस्लिम क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
काठमाडौंमा जारी १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय सहमहामन्त्री पदमा दुई जना र केन्द्रीय सदस्य पदमा ११ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये एक पदाधिकारीसहित पाँच जना निर्वाचित भएपछि पर्साका कांग्रेस नेता तथा कार्यकर्तामा उत्साह बढेको उपसभापति कुर्मीले बताए।
महाधिवेशनमा पर्साबाट विभिन्न क्लस्टरमा उम्मेदवारी दिने अन्य नेताहरूमा थारू क्लस्टरबाट पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र चौधरी, मधेसी क्लस्टरबाट रामरूप कुर्मी र विजयकुमार सर्राफ, भूगोलतर्फ मधेसी क्लस्टरबाट राकेश सिंह, मधेसी मुस्लिम क्लस्टरबाट सहरुम राउत गद्दी, महिला मधेसी क्लस्टरबाट किरण सरकार तथा आदिवासी जनजाति क्लस्टरबाट रूपा श्रेष्ठ रहेका थिए।
चौरसियाको विजयसँगै पर्साले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो प्रतिनिधित्व थप बलियो बनाएको छ। जिल्लाबाट केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व स्थापित हुनु पर्साको राजनीतिक प्रभाव विस्तारका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।











