आगामी मंसिरको तेस्रो सातादेखि काया कप यु–१६ अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता हुने भएको छ ।
काया स्पोर्ट्सको आयोजनामा ग्रासरुटदेखि नै नेपाली फुटबलको विकास गर्ने उद्देश्य साथ उक्त प्रतियोगिता हुन लागेको हो । काया स्पोर्ट्सले आईतवार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दियो ।
कुल ३२ विद्यालयले प्रतिष्पर्धा गर्ने प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा प्रतियोगिताका खेल हुनेछन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् ।

प्रत्येक टोलीले कम्तीमा पनि तीन खेल खेल्न पाउनेछन् । प्रतियोगिताको समूहचरणका खेल मंसिर १७ र १८ गते हुनेछन् । नकआउट चरणको खेल भने मंसिर २० गते र फाइनल २२ गते गर्ने आयोजकले जनाएको छ । फुटसल प्रतियोगितासँगै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले नेपाली महिला भलिबलमा छुट्टै पहिचान बनाएको न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई पनि सहयोग गर्ने आयोजकले जनाएको छ ।