काठमाडौँ –
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने भएको छ ।
सभा र प्रदर्शनमा करिब १ लाख नेता–कार्यकर्ता सडकमा आउने एमाले नेताहरूले बताएका छन् । काठमाडौँको भृकुटीमण्डमा हुने जागरण सभामा एमालेले उपत्यकाका तीन वटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने तयारी गरेको छ ।

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले जानकारी दिए । भट्टराईकै नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन भइसकेको छ ।
समितिको सहसंयोजकमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल छन् भने सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी छन् ।