पर्सा-
पर्सासहित तराई क्षेत्रमा दुई दिनदेखि बाक्लो मात्रामा हुस्सु लागेर चिसो हव चल्दा जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा बिहिबारबाट चिसो एक्कासि बढेको हो । यहाँ शुक्रबार पनि बिहानैबाट बाक्लो मात्रामा हुस्सु लागेर शीत झरिरहेको छ ।
चिसो बढ्दा विपन्न, गरिब, मजदुर र पिछडिएको दलित परिवार प्रभावित हुन थालेका छन् ।

चिसो बढ्दा घाँटी, टाउको र छाती दुख्ने, रुघाखोकी लाग्नेजस्ता चिसो जन्य सङ्क्रमणका बिरामी बढने चिकित्सकले बताएका छन् । नरायणि अस्पतालका डाक्टर निरज सिंहले चिसो स्याँठ चलेको र बाक्लो हुस्सु लागेको समयमा सकेसम्म घरभित्रै बस्न सुझाव दिनुभएको छ ।
उहाँले यो समयमा न्यानो कपडा लगाउन, सुरक्षित सँग आगो तापेर बस्न र ताता तथा पोसिला खानेकुरा खान सुझाव दिनुभएको छ । हुस्सु लाग्न सुरु भएसँगै तराई क्षेत्रका किसान दलहन तथा तेलहन बाली र तरकारी खेती प्रभावित हुने भन्दै चिन्तित बनेका छन् ।
हुस्सु लाग्न थालेपछि गोलभेँडा, आलु, तोरीलगायतका बाली प्रभावित हुने किसानले बताएका छन् । बाक्लो मात्रामा हुस्सु लाग्दा पूर्व–पश्चिम राजमार्ग र अन्य भित्री सडकमा सवारी साधन दिउँसो पनि बत्ती बालेर गुडिरहेका छन् ।